चीन भूकम्प : मृत्यु हुनेको संख्या ४६ पुग्यो

0

एजेन्सी : चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । 

दक्षिण पश्चिम चीनको सिचुआनमा सोमबार दिउसो ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा उनीहरुको मृत्यु भएको हो । 

भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् । 

सिचुआनको राजधानी छेन्दुका करिब २ करोड १० लाख मानिसलाई कोरोना प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको बेला भुकम्प गएको हो । 

भूकम्पको केन्द्रबिन्दु छेन्दुवाट २ सय २६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको बताइएको छ । 

प्रभावित क्षेत्रका १० हजार घरमा दुरसञ्चार सेवा अवरुद्ध भएको छ । 

चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पपीडितको उद्धारका लागि निर्देशन दिएका छन् । 

यसअघि जुन महिनामा सिचुआनमा ६ दशमलब एक म्याग्निच्युडको भूकम्प गएको थियो । सिचुआनमा सन् २००८ मा भुकम्प जाँदा सत्तरी हजार मानिसको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.