लिज ट्रस बन्ने भइन् बेलायतको नयाँ प्रधानमन्त्री

0

एजेन्सी : बेलायतमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले लिज ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको छ ।

विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी मंगलबार बेलायतको प्रधानमन्त्री चुनिने भएकी छिन् । 

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीले दुई महिना लामो प्रक्रियापछि सोमबार संसदको तल्लो सदन हाउस अफ कमन्समा आफ्नो नेता र देशको आगामी प्रधानमन्त्रीको टुंगो लगाएको हो ।

प्रधानमन्त्री पदको यो दौडमा अन्तिमसम्म पूर्व अर्थमन्त्री ऋषि सुनक र वर्तमान परराष्ट्रमन्त्री लिज ट्रस मात्र बाँकी थिए । दुई नेताबीच भएको निर्वाचनमा पूर्वअर्थमन्त्री ऋषि सुनकले ६० हजार तीन सय ९९ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी लिज ट्रसले ८१ हजार ३२६ मत पाएकी छिन् ।

कन्जरभेटिभ पार्टीको निर्वाचन समितिका नेताले लिज ट्रसलाई आफ्नो पहिलो रोजाइको रूपमा घोषणा गरे । उनी बेलायतको भावी प्रधानमन्त्री हुनेछिन् । 

उनले प्रधानमन्त्री पदको दौडमा ऋषि सुनकलाई पराजित गरेकी हुन् । ट्रस छ वर्षमा यो देशको चौथो प्रधानमन्त्री भएकी छिन् । यसअघि डेभिड क्यामरुन, थेरेसा मे, बोरिस जोन्सनले सन् २०१६ देखि २०२२ सम्म विभिन्न अन्तरालमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएपछि विदेश सचिव लिज ट्रसले भनिन, ‘म ऊर्जा संकट र ऊर्जा आपूर्तिका साथै राष्ट्रिय स्वास्थ्य सेवा, कर कटौती र हाम्रो अर्थतन्त्रको वृद्धिमा दीर्घकालीन आवश्यकताहरूको लागि राम्रो योजना बनाउनेछु ।’ साथै उनले सन् २०२४ मा कन्जरभेटिभ पार्टीलाई ठूलो जित दिने पनि बताइन् ।

Leave A Reply

Your email address will not be published.