युक्रेनको रेल स्टेशनमा रुसको रकेट आक्रमण, २२ जनाको मृत्यु

0

एजेन्सी : रुसी सेनाले युक्रेनको रेल वे स्टेशनमा रकेट प्रहार गर्दा कम्तिमा २२ जनाको मृत्यु भएको छ । यस्तै, आक्रमणबाट ५० जना घाइते भएका छन् ।

युक्रेनको स्वतन्त्रता दिवसको दिन रुसी सेनाले दिप्रोपत्रोभ्स्की क्षेत्रको च्यापलिन रेलवे स्टेशनमा रकेट आक्रमण गरेको हो ।

पाँच जनाको घटनास्थलमै जलेर मृत्यु र अन्यको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी रकेट प्रहारबाट रेलका पाँच वटा डिब्बामा आगो लागेको र मृत्यु हुनेको संख्या बढन सक्ने बताएका छन् ।

मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको छ महिना पूरा भएको दिन सो आक्रमण भएको हो । रुसले आक्रमणबारे पनि कुनै टिप्पणी गरेको छैन ।

युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा विश्वभर मानिसहरू युक्रेनको समर्थनमा जम्मा भएर प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अर्थहीन युद्धका कारण युक्रेन र त्यहाँ बाहिरका लाखौँ मानिसहरूलाई चरम गरिबीमा धकेल्न सक्ने चेतावनी दिएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आफ्नो देशको समर्थन दर्शाउन किभमा उपस्थित भएका छन् । उनले नयाँ सैन्य सहायता अन्तर्गत करिब ६४ मिलियन डलर उपलब्ध गराउने घोषणा गरेका छन् ।

त्यस्तै अस्ट्रेलिया, जर्मनी, फिनल्यान्ड, पोल्यान्ड, टर्की र अन्य देशहरूले पनि समर्थनका सन्देशहरू पठाएका छन् ।

राष्ट्रपति जेलेन्स्की र उनकी पत्नीले युद्धमा ज्यान गुमाएका सैनिक तथा नागरिकहरूको सम्झनामा आयोजित समारोहमा पनि भाग लिएका छन् ।

Leave A Reply

Your email address will not be published.