श्रीलंकामा संकटकाल घोषणा, प्रधानमन्त्रीलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी

0

एजेन्सी : श्रीलंकाको कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रमासिंगेले पाएका छन् । 

भागेर माल्दिभ्स पुगेका राष्ट्रपति गोटाबाया राजपाक्षेले विक्रमासिंगेलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिएका हुन् । 

संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति राजपाक्षले उनलाई नियुक्त गरेको बताएको छ ।

यसैबीच, राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँको संख्यामा प्रदर्शनकारी प्रधानमन्त्री कार्यालय घेराउ गर्न अघि बढेपछि सुरक्षाकर्मीले रोकेका छन् । 

प्रदर्शनकारी र प्रहरीबीचको झडपमा केही घाइते भएका छन् । प्रहरीले दर्जनौँ सेल अश्रुग्यास र केही राउन्ड हवाई फायर तथा रबरका गोली चलाएको छ ।

प्रधानमन्त्री कार्यालयले देशव्यापी संकटकाल घोषणा गर्दै पश्चिमी प्रान्तमा कर्फ्यू लगाएको केही घण्टापछि प्रदर्शनकारीहरू उक्त कार्यालयबाहिर भेला भएका हुन् ।

यस्तै श्रीलंकाको सरकारी टेलिभिजन च्यानल रूपवाहिनीले आफ्नो प्रसारण बन्द गरेको छ ।

प्रदर्शनकारीहरूको भिड उक्त टेलिभिजनको कार्यालयमा छिरेपछि प्राविधिकहरूले प्रसारण बन्द गरेको अधिकारीहरूले बताएका छन् ।

यसैबीच श्रीलंकाको अर्को राष्ट्रिय टेलिभिजनले पनि प्रसारण बन्द गरेको खबर आएको छ ।

Leave A Reply

Your email address will not be published.