बेलायती प्रधानमन्त्री जोनसनद्वारा कन्जर्भेटिभ दलको नेताबाट राजीनामा घोषणा

0

एजेन्सी : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिने भएका छन् । 

सरकारमा रहेका महत्वपूर्ण मन्त्रीसहित दर्जनौं सांसदहरूले राजीनामा दिएपछि जोनसनले बिहीबार पार्टी नेतृत्व छोड्न लागेका हुन् । 

कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिए पनि उनी केही समयसम्म बेलायती प्रधानमन्त्री रहने बताइएको छ । 

बेलायतको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रिटका प्रवक्ताले आगामी गर्मी याममा कन्जरभेटिभ पार्टीमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु जानकारी दिएका छन । 

टोरी दलको सम्मेलनमार्फत आगामी अक्टोबरमा नयाँ प्रधानमन्त्री चयन हुनेछ । कन्जरभेटिभ पार्टीको नेता छान्न समय लाग्ने भएकाले त्यतिन्जेलसम्मका लागि जोनसन नै प्रधानमन्त्री हुने भएका हुन् । 

चरणबद्धरूपमा मन्त्रीहरूले राजीनामा दिएपछि जोनसनले चर्को दबाबको सामना गरिरहेका छन् । 

बुधबार बेलायती संसद्को नियमित प्रश्नोत्तर सत्रमा उनले सन् २०१९ को निर्वाचनबाट व्यापक जनादेश पाएको भन्दै राजीनामा नदिने बताएका थिए । 

अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि जोनसन संकटमा परेको थिए । 

यौन दुर्व्यवहार आरोपी क्रिस पिन्चरलाई सहायक प्रमुख सचेतक नियुक्त गर्ने जोनसनको निर्णयपछि उनी विवादमा तानिएका हुन् । सो निर्णय भने गलत भएको उनले स्वीकार गरेका छन् । 

जोनसनप्रति असन्तुष्टि जनाउँदै ५० भन्दा बढी कन्जरभेटिभ सांसदहरूले सरकारमा उनीहरूले निर्वाह गर्दै आएका भूमिकाबाट राजीनामा दिइसकेका छन् । 

सन् २०१९ मा भएको संसदीय चुनावमा कन्जरभेटिभ पार्टीले तल्लो सदन हाउस अफ कमन्समा बहुमत ल्याएको थियो । 

६ सय ५० सिटमध्ये ३ सय ६५ सिट कन्जरभेटिभ पार्टीले जितेकाले उसले एक्लै बहुमतको सरकार बनाउन सक्ने अवस्था छ ।

Leave A Reply

Your email address will not be published.