अफगानिस्तान भूकम्प : मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

0

एजेन्सी : अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । 

विनाशकारी भूकम्पपछिको अवस्थाको सामना गरिरहेको बेला तालिबानले सहयोगको अपिल गरेको हो । 

बुधबार बिहान आएको छ दशमलब एक म्याग्निच्युडको भूकम्पमा परेर एक हजारभन्दा भन्दा बढी मानिसको मृत्यु भएको छ । भूकम्पमा कम्तीमा १५ सय घाइते भएका छन् । 

तालिबान नेता हिबतुल्लाह अखुन्जादाले भूकम्पका कारण सयौँ घरहरू भत्किएको र मृतकको संख्या बढ्न सक्ने बताएका छन् । 

भूकम्पबाट दक्षिण पूर्वको पक्तिका प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । संयुक्त राष्ट्रले आपतकालीन आश्रय र खाद्यान्न सहायता प्रदान गर्ने प्रयास गरिरहेको छ । 

भारी वर्षा र असिनाले उद्धार कार्य प्रभावित भएको प्राप्त विवरणमा जनाइएको छ । खोस्ट सहरबाट ४४ किलोमिटर टाढा गएको उक्त भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो ।

अफगानिस्तान भूकम्पीय जोखिमयुक्त क्षेत्रमा अवस्थित छ । विगत एक दशकमा अफगानिस्तानमा भूकम्पमा परेर सात हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.