एजेन्सी : युरोपेली संघ ‘ईयू’ले रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको आरोप लगाएको छ ।
ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धका कारण रुसले विश्वमा अनिकालको जोखिम निम्त्याएको बताएका हुन् ।
युक्रेनमाथि रुसले सुरू गरेको युद्धका कारण खाद्य सुरक्षाको खतराको बढेको उनको भनाइ छ । रूसले ‘ब्ल्याक सी’लाई युद्धग्रस्त क्षेत्रमा परिणत गरेको र युक्रेनबाट अन्न तथा मल ढुवानीमा अवरोध खडा गरेको बोरेलले बताए ।
विश्वव्यापी खाद्य सुरक्षाका लागि संयुक्त राष्ट्र संघ र आफूहरुले प्रयास थाल्ने दाबी पनि इयुको छ ।
खाद्य सुरक्षाका लागि युक्रेनबाट हुने निर्यातलाई जहाजमार्फत पुनः सञ्चालन गर्नु जरुरी भएको र यसका लागि संयुक्त राष्ट्र संघसँग छलफल भइरहेको ईयूले जनाएको छ ।
रूसले आफूलाई खाद्य संकटबाट बचाउन आफ्नो अन्न निर्यातमा कोटा तथा अतिरिक्त कर पनि लागू गर्न थालेको छ ।