रुसी आक्रमणमा सेभेरोडोनेट्स्कका सबै पुलहरु ध्वस्त

0

एजेन्सी : रुसले पूर्वी युक्रेनी सहर सेभेरोडोनेट्स्कका सबै पुलहरू ध्वस्त पारेको छ । हप्तौँदेखि सो शहर कब्जा लिन प्रयासरत रुसले पुलहरू ध्वस्त पारेको हो । 

सेभेरोडोनेट्स्कका गभर्नर सेर्हेई हाइडाईले सहरलाई पूर्ण रूपमा विच्छेद गरिएकाले त्यहाँ आपूर्ति व्यवस्था मिलाउन र नागरिकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अब असम्भव भएको बताएका छन् । 

सेभेरोडोनेट्स्कका तीनवटा पुलहरू ध्वस्त भएको विवरण हाइडाईले टेलीग्राममा पोस्ट गरेका छन । उनले सहरमा रहेका बासिन्दालाई अत्यन्तै कठिन परिस्थितिमा बाँच्न बाध्य पारिएको उल्लेख गरेका छन् । 

राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सहरमा युद्धको मानवीय मूल्य डरलाग्दो भएको बताएका छन् । अहिले पनि सो शहरमा भीषण लडाइँ भइरहेको छ । 

लुहान्स्क क्षेत्रको नियन्त्रणमा लिने उद्देश्यले रुसले सेभेरोडोनेट्स्क र नजिकैको सहर लिसिचान्स्कमा आक्रमण तीव्र पारेको छ । सो क्षेत्रका धेरैजसो भू–भागहरू रुस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका छन् । 

सहरको लगभग ७० प्रतिशत हिस्सा अब रुसी नियन्त्रणमा पुगेको बताइएको छ । रुस समर्थित स्वघोषित डोनेट्स्क पिपुल्स रिपब्लिकका सैन्य प्रतिनिधिले बाँकी युक्रेनी सेनाले आत्मसमर्पण गर्नुपर्ने वा ज्यान दिनुपर्ने चेतावनी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.