श्रीलंकामा प्रदर्शन चर्केपछि देशैभर सुरक्षाकर्मी परिचालन, शान्ति–सुव्यवस्था पुनर्स्थापित गर्ने राष्ट्रपतिको वाचा

0

एजेन्सी : आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले देशैभरि सुरक्षा बलहरूलाई परिचालन गरेको छ । 

सुरक्षाकर्मीलाई सरकारविरोधी प्रदर्शनका क्रममा लुटपाट गर्नेहरूलाई गोली हान्नसक्ने अधिकार दिइएको छ । 

प्रदर्शन चर्केपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति गोताबाय राजपक्षले शान्ति–सुव्यवस्था पुनर्स्थापित गर्ने वाचा गरेका छन् । 

उनले राजीनामाको मागलाई बेवास्ता गर्दै संसद्लाई केही थप अधिकार दिने र नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रस्ताव गरेका छन् । 

मूल्यवृद्धि र उपभोग्य वस्तुको अभावले उत्पन्न गरेको आक्रोशबीच उनका दाइ महिन्द राजपक्षले सोमवार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रदर्शन झनै चर्केको छ । 

खाद्यान्न र इन्धन जस्ता आधारभूत उपभोग्य वस्तुहरू सकिएर वा किन्न नसकिने भएपछि नागरिक आक्रोशित भएका छन् । 

राष्ट्रव्यापी कर्फ्यूबीच भीडले लगातार दोस्रो रात पनि आगजनी र आक्रमणका घटना भएका छन् । धेरैले राजपक्ष र अन्य राजनीतिज्ञका सम्पत्तिलाई निशाना बनाएर आगजनी गरेका छन् । 

कोलम्बो नजिकैका पसलहरू र पूर्व प्रधानमन्त्री महिन्द राजपक्षका छोराको स्वामित्वमा रहेको रिसोर्टमा समेत आगजनी भएको छ । 

राष्ट्रपतिका दाइ तथा दुईपटक राष्ट्रपति बनिसकेका महिन्द राजपक्षलाई सुरक्षाका लागि सैन्य शिविरमा राखिएको छ । 

सोमबारदेखि जारी हिंसामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब दुई सय जना घाइते भएका छन् ।

Leave A Reply

Your email address will not be published.