राष्ट्रसंघका महासचिव गुटेरसको भ्रमणकै क्रममा रुसद्वारा किभमा आक्रमण

0

एजेन्सी : संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस भ्रमणमै रहेको समयमा रुसले युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

एउटा २५ तल्ले भवनलाई निशाना बनाएर दुईवटा रुसी क्षेप्यास्त्र प्रहार गरिएको हो । आक्रमणबाट केन्द्रीय डिस्ट्रिक्टमा अवस्थित भवनमा रहेका कैयौँ मानिसहरू घाइते भएका छन् ।

आक्रमणको खबरले आफु स्तब्ध भएको महासचिव गुटेरसले बताएका छन् । उनले युक्रेनको द्वन्द्व रोक्न वा अन्त्य गर्न विफल भएकोमा आफ्नै सङ्गठनको सुरक्षा परिषद्को आलोचना गरेका छन् । उनले राष्ट्रसंघ युद्ध रोक्न र नियन्त्रण गर्न सबै कुरामा विफल रहेको भन्दै चिन्ता प्रकट गरेका हुन् ।

रुसी अतिक्रमण राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप भएको उनको भनाइ छ । उनले मारियोपोल शहरमा फसेका गैरसैनिकहरूको उद्धार सुनिश्चित गर्न राष्ट्रसंघले हर सम्भव प्रयास गर्ने बताए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणले विश्व संगठनप्रतिको रुसी वास्तविक धारणालाई उजागर गरेको भन्दै कडा प्रतिवाद हुनु आवश्यक रहेको बताएका छन् ।

किभ र अन्य शहरमा गरिएका क्षेप्यास्त्र हमलाले आफूहरूलाई आरामले बस्न नमिल्ने प्रस्ट पारेको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.