युक्रेनको राजधानीलाई पुनः आक्रमणको निशाना बनाउने रुसको चेतावनी

0

एजेन्सी : रुसले युक्रेनको राजधानी किभलाई पुनः थप आक्रमणको निशाना बनाउने चेतावनी दिएको छ । 

रुसी भू क्षेत्रमा कुनै पनि प्रकारले युक्रेनले आक्रमण गरेमा किभलाई निशाना बनाएर थप मिसाइल प्रहार गर्ने चेतावनी रुसले दिएको हो । 

युक्रेनी हेलिकप्टरले आफ्नो गाउँमा आक्रमण गरेको आरोप रुसले लगाएको छ । रुसी गाउँ क्लीमोभोमा बिहीबार युक्रेनले दुई हेलिकप्टर मार्फत बम खसालेको आरोप छ । 

सो घटनामा आठ जना घाइते भएको रुसको दाबी छ । त्यसको जवाफमा रुसले युक्रेनको राजधानी किभ नजिकैको सैन्य उद्योगमा मिसाइल समेत प्रहार गरेको छ । 

एन्टी–एयरक्राफ्ट र एन्टी–सिप मिसाइल प्रणालीको उत्पादन तथा मर्मत गर्ने सैन्य उद्योगमा रुसले आक्रमण गरेको हो । 

रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले आफूहरुले युक्रेनी सैन्य उद्योगलाई निशाना बनाएको बताएका हुन् । 

रुसले युक्रेनमा हतियार उपलब्ध नगराउन अमेरिकालाई रूसले चेतावनी दिएको छ । बाइडेन प्रशासनले युक्रेनलाई हतियार दिने काम जारी राखे नसोचेको नतिजा भोग्नुपर्ने चेतावनी रूसले दिएको हो । 

युक्रेनले भने आफूले रुसी क्षेत्रमा आक्रमण नगरेको बताउँदै आएको छ । युक्रेन विरोधी भावना फैलाउनका लागि रुसले आक्रमण आरोप आफूहरुमाथि लगाएको उसको भनाइ छ । 

यसैबीच युक्रेनको राजधानी सहर किभ वरपर नौ सय सर्वसाधारणको शव फेला परेका छन् । रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रका प्रहरी प्रमुखले सो संख्यामा सर्वसाधारणको शव फेला परेको दाबी गरेका हुन् । 

फेब्रुअरीमा रुसले युक्रेनमा हमला गरेपछि लाखौँ सर्वसाधारण देश छोडेर विभिन्न मुलुकमा शरण लिएका छन् ।

Leave A Reply

Your email address will not be published.