बुचामा भएको नरसंहार ढाकछोप गर्ने रुसको प्रयास : जेलेन्स्की

0

एजेन्सी : युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले बुचामा भएको नरसंहार ढाकछोप गर्न रुसले प्रयास गरिरहेको बताएका छन् । उनले भिडियो सन्देश जारी गर्दै नरसंहारको विरुद्ध तत्काल कदम चाल्न पश्चिमा देशहरुलाई आग्रह गरेका छन् ।

किभस्थित आफ्नो कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाहरू माथि बुचा सहर नियन्त्रणमा लिएका बेला तीन सय भन्दा धेरै सर्वसाधारणको हत्या गरेको बताएका हुन् ।

उनले सर्वसाधारणलाई यातना समेत दिइएको उल्लेख गरेका छन । रुसी सेनाले सहरहरू ध्वस्त पारेको, अपहरण गरेको, यातना दिएको अनि सर्वसाधारणहरूलाई मारेको प्रशस्त प्रमाण फेला परेको उनको भनाइ छ ।

रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका कार्यहरूको अनुसन्धान भैरहेको पनि उनले जानकारी दिए । पुरै सहरमा अनुसन्धान गर्दा पीडितहरूको संख्या अझ ठूलो हुनसक्ने जेलेन्स्कीको भनाइ छ ।

बुचाका बासिन्दाले ८० वर्ष अघि नाजीहरूले कब्जा गर्दा समेत नदेखेका काम रुसी सेनाले गरेको बताएका छन । रुसी सेनाले बुचा सहित अन्य सहरहरू कब्जा गरेको बेला गरेका अपराधहरूको पूर्ण र पारदर्शी अनुसन्धान गर्न आफ्नो सरकार इच्छुक रहेको जेलेन्स्कीले बताएका छन् ।

बुचामा रुसले गरेको नरसंहारको विश्वव्यापी रुपमा विरोध हुँदै आएको छ । रुसले बुचा शहरमा आफ्ना सैनिकले निहत्था जनताको हत्या नगरेको दाबी गरेको छ ।

राष्ट्रसंघका लागि मस्कोका राजदूतले भने बुचामा भएका घटनाहरूबारे पश्चिमा राष्ट्रहरूले झुट बोलेको देखाउने ’तथ्यपरक प्रमाणहरू आफ्नो देशले राष्ट्रसंघीय सुरक्षा परिषद्मा प्रस्तुत गर्ने बताएका छन् ।

न्यूयोर्कमा भएको पत्रकार सम्मेलनमा उनले युक्रेनमाथि बनावटी प्रमाणहरू तयार पारेको बताएका हुन् ।

Leave A Reply

Your email address will not be published.