रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

0

काठमाडौं : सत्तारूढ गठबन्धन बैठकले स्थानीय चुनावका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा छुट्टै समिति गठन गर्ने निर्णय गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको बैठकले २०७९ वैशाख ३० मा हुने स्थानीय चुनावका लागि पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो ।

पौडेल नेतृत्वको समितिमा पाँच दलबाट प्रतिनिधिहरू रहने छन् । समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन् । यस्तै माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरूङ सदस्य छन् भने एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल सदस्य छन् । जसपाबाट अशोक राई र रेणु यादव सदस्य छन् । राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन् ।

यस्तै देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग बृहत अन्तरक्रिया गर्ने पनि निर्णय भएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत नेता सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.