श्रीलंकामा गहिरिँदै संकट : सबै मन्त्रीले दिए सामुहिक राजीनामा

0

एजेन्सी : श्रीलंकामा संकटकालका बीच राजनीतिक उथलपुथल तीव्र बनेको छ । आर्थिक संकट गहिरिदै गएपछि मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका छन् ।

श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिएका हुन् ।

श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले समेत आफ्ना सबै विभागबाट राजीनामा दिएका छन् ।

राजधानी कोलम्बोमा स्थिति नबिग्रियोस् भनेर सेना र प्रहरी परिचालन गरिएको छ । यसअघि राजधानी कोलम्बोमा सरकारको विरोध गरेको आरोपमा ६ सय ५० भन्दा बढी जनालाई पक्राउ गरिएको थियो ।

आर्थिक मन्दीको विरोधमा उनीहरूले कर्फ्यु तोडेर सरकारविरुद्ध र्‍याली निकालेका थिए । सरकारले सामाजिक सञ्जाल प्लेटफर्ममा बन्द गरेको छ । फेसबुक, ट्विटर, ह्वाट्सएप र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल सेवा बन्द गरिएको इन्टरनेट निगरानी संस्था नेटब्लक्सले जनाएको छ ।

श्रीलंकाले अहिले सन् १९४८ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएयताकै सबैभन्दा भयावह आर्थिक समस्या भोगिरहेको छ । इन्धन खरिदका लागि आवश्यक विदेशी मुद्राको अभावका कारण पछिल्लो स्थिति आएको हो ।

राजपाक्षे सन् २०१९ जनतालाई स्थिरता र समृद्धि दिने नारासहित सत्तामा आएका थिए । तर, खाद्यान्न, इन्धन र औषधि अभावलगायत दिनहुँ लामो समयसम्म विद्युत् लोडसेडिङ खप्न बाध्य भएपछि जनआक्रोश चरमविन्दुमा पुगेको छ ।

Leave A Reply

Your email address will not be published.