पुटिनले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्नसक्ने बाइडेनको दाबी

0

एजेन्सी : युक्रेन युद्धमा व्यहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने चेतावनी अमेरिकाले दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने बताएका हुन् ।

त्यसैको तयारी स्वरूप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका जस्ता झुटा खबर फैलाएको उनको भनाइ छ ।

पश्चिमा समुदायको एकताबद्ध प्रतिक्रियाका कारण पुटिन ’भित्तामा पुगेको’ भन्दै बाइडेनले अब उनले झनै चर्का कारबाही गर्न सक्ने बताएका हुन् ।

उनले अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको वा युक्रेनमा त्यस्ता अस्त्र रहेको भन्ने रुसी दाबी पूरै असत्य भएको बताए ।

बाइडेनले पुटिनले अमेरिकाविरुद्ध साइबर आक्रमणको तयारी गरिरहेको हुनसक्ने पनि बताएका छन् । आक्रमणलाई रोक्न र प्रतिक्रिया जनाउन अमेरिकाले हरकिसिमको प्रयास गर्ने उनले उल्लेख गरे ।

आर्थिक प्रतिबन्धहरू लगाएको बदलामा रुसले त्यसो गर्न सक्ने उनको भनाइ थियो ।

बाइडेनले पुटिनलाई युद्ध अपराधी भनेपश्चात् वाशिङ्टनसँगको सम्बन्ध पूरै विच्छेदको अवस्थामा पुगेको मस्कोले चेतावनी दिइसकेको छ ।

यसैबीच युक्रेनलाई लामो दूरीको हवाई सुरक्षा प्रणाली प्रदान गर्नेबारे साझेदार देशहरुसँग छलफल भइरहेको अमेरिकाले जनाएको छ ।

माथिल्लो पहाडी वा हिमाली क्षेत्रमा हवाई सुरक्षाका लागि सहयोग हुने खालको प्रणाली अमेरिकाले दिन लागेको हो ।

Leave A Reply

Your email address will not be published.