मारियोपोल शहरलाई आत्मसमर्पण गर्न रुसको चेतावनी, युक्रेनद्वारा अस्वीकार

0

एजेन्सी : युक्रेनको मारियोपोल शहर नियन्त्रणमा लिन रुसले भिषण आक्रमण जारी राखेको छ । रणनीतिक महत्वको शहर कब्जामा लिन रुसले आक्रमण तिब्र पारेको हो ।

घेराबन्दीमा परेको युक्रेनी शहर मारिपोललाई आत्मसमर्पण गर्न रुसले अल्टिमेटमसहित चेतावनी दिएको छ । रुसले मारिपोलले आत्मसमर्पण नगरे सैन्य कारवाहीको सामना गर्नुपर्ने चेतावनी दिएको हो ।

तर युक्रेनले भने रुसको सो प्रस्ताव अस्वीकार गरेको छ । युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरिस्चुकले सोमबार सबेरै आत्मसमर्पणको कुरा वा प्रश्न कुनै पनि अवस्थामा नआउने बताएकी छन् ।

आत्मसर्मपण गरेमा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जानका लागि मानवीय सहायता मार्ग खुला गर्ने रुसको भनाइ छ । सो शहरका हजारौँ मानिसलाई उनीहरुको इच्छा विपरित रुस लगिएको युक्रेनको आरोप छ ।

मारिपोल शहर गएको दुई हप्तादेखि रुसी सैनिकको घेराबन्दीमा छ । त्यहाँ विद्युत, पानी तथा ग्यासको आपूर्ति हुन सकेको छैन । शहरमा करिब तीन लाख मानिस फसेका छन् ।

खाद्यान्न तथा अत्यावश्यक औषधिको अभावका बीच फसेका मानिसहरुको अवस्था नाजुक बन्दै गएको छ । रुसले मारिपोलका लागि मानवीय सहायता सामग्री लैजान पनि दिएको छैन ।

रुसले गरेको आक्रमणका कारण मारिपोलका करिब ८० प्रतिशत आवासीय भवन क्षतिग्रस्त भएका छन् ।

युक्रेनमा युद्धका कारण घर छाडेर भाग्नेहरूको संख्या एक करोड पुगेको छ । विस्थापितहरूमध्ये झन्डै ३५ लाख मानिसले देश नै छाडेका छन् ।

Leave A Reply

Your email address will not be published.