रुसमा युद्ध विरोधी प्रदर्शन चर्किँदै, एकैदिन ४ हजार बढी प्रदर्शनकारी पक्राउ

0

एजेन्सी : रुसले युक्रेनमाथि फेब्रुअरी २४ देखि निरन्तर आक्रमण गरिरहेको छ । यस्तोमा ठूलो संख्यामा युक्रेनका मानिसहरु पनि मुलुक छाडेर भागिरहेका छन् ।

रुसले युक्रेनमा आक्रमण शुरु गरेसँगै विश्वका विभिन्न देशमा युद्ध विरोधी प्रदर्शनहरु भइरहेका छन् ।

रुसमा समेत युद्ध विरोधी प्रदर्शन चर्किँदै गएको छ । यसैक्रममा रुसमा युद्धविरोधी प्रदर्शनमा सहभागी चार हजार तीन सय भन्दा बढी पक्राउ परेका छन् ।

आइतबार रुसका विभिन्न सहरमा भएका प्रदर्शनबाट प्रहरीले कम्तीमा ४ हजार ३०० जनालाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पक्राउ पर्नेमा सबैभन्दा धेरै मस्कोका छन् । मस्कोबाट करिब एक हजार ७०० जना प्रदर्शनकारी पक्राउ परेको बताइएको छ ।

रुसका ५३ सहरबाट आइतबार प्रदर्शनकारी पक्राउ परेको ओभिडी–इन्फो समूहले जनाएको छ ।

रुसमा प्रदर्शनमाथि कडा निगरानी गरिँदै आएको छ । तर पनि गएको फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु भएयता रुसमा लगातार प्रदर्शन भइरहेको हो ।

पछिल्लो ११ दिनमा रुसमा १० हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

Leave A Reply

Your email address will not be published.