रुस र युक्रेनबीच अस्थायी युद्धविरामको पालना भएन

0

एजेन्सी : रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा युद्धविरामकाबीच  तीव्र गोलाबारी भएको विवरणहरू सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले शनिबार सो शहरमा अस्थायी युद्धविराम घोषणा गरेको थियो । 

तर रुसी सेनाको गोलाबारीका कारण सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरूले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मारिओपोलका मेयर भदयाम बोयचेन्कोले रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको बताएका छन् । 

सहरमा अझै बमबारी भइरहेको र निकास मार्ग सकिने स्थानमा दुई देशका सेनाबीच भिडन्त जारी रहेको बताइएकाे छ । तर रुसी रक्षा मन्त्रालयले भने युक्रेनको दाबी गलत भएको र आफूहरूले सर्वसाधारणलाई शहरबाट बाहिरिन नरोकेको जनाएको छ ।

मारिओपोलबाट बाहिर निस्कन सफल एक व्यक्तिले शहरमा नर्क जस्ताे हालत रहेकाे बताएका बीबीसीले जनाएकाे छ । मारिओपोल युक्रेनकाे प्रमुख बन्दरगाह शहर हाे, जसलाई अहिले रुसी सेनाले घेराबन्दी गरेकाे छ । बितेका केही दिनयता त्यहाँ विद्युत छैन भने खाना तथा औषधिको पनि अभाव छ । 

Leave A Reply

Your email address will not be published.