युक्रेन संकट अन्त्यका लागि कूटनीतिक समाधान अझै सम्भव : बाइडेन

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि सैन्य कारबाही तत्कालै शुरु गर्न सक्ने बताएका छन् ।

युक्रेनमा आक्रमण गर्नका लागि रुसले बनावटी कारणको तयारी गरिरहेको उनले बताएका छन् ।

राष्ट्रपति बाइडेनले युक्रेन संकट अन्त्यका लागि कूटनीतिक समाधान अझै सम्भव रहेकोपनि बताएका छन् ।

राष्ट्रसंघलाई सम्बोधन गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले मस्कोले आक्रमणको औचित्य देखाउन प्रयोग गर्न सक्ने कयौँ कुराहरूको सूची प्रस्तुत गरेका छन् ।

सुरक्षा परिषद् बैठकमा ब्लिङ्कनले रुसभित्रै मञ्चन गरिएको कथित आतंकवादी बम हमला, विशाल चिहान पाइएको कुरालाई देखाउदै रुसले आक्रमण गर्नसक्ने उनको भनाइ छ ।

अमेरिकी विदेशमन्त्रीले रुसी नागरिकमाथि नाटकीय रुपमै हुनसक्ने ड्रोन आक्रमण वा नक्कली या साँच्चिकैको रासायनिक आक्रमणलाई कारण देखाएर पनि युक्रेनमाथि आक्रमण हुनसक्ने उल्लेख गरे ।

उनले रुसी जातीय समूहका मानिसहरूको सुरक्षा गर्न भनेर ’नाटकीय ढंगले आपतकालीन बैठक बोलाउने सम्भावना पनि औल्याए । त्यसपछि रुसी क्षेप्यास्त्र र बमहरू युक्रेनी निसानामा प्रहार हुन थाल्ने ब्लिङ्कन भनाइ छ ।

मस्कोले भने अमेरिकी भनाइ ’आधारहीन’ बताउँदै अमेरिकाले तनाव बढाएको आरोप लगाएको छ । सुरक्षा परिषद बैठकमा रुसी सहायक विदेशमन्त्री सर्गेई भर्सिननले ब्लिकनका विचार डरलाग्दा भएको बताए ।

अमेरिकाले भने मस्कोले युक्रेनमा आक्रमण नगर्ने कुरा स्पष्टसँग भन्नुपर्ने बताएको छ । रुसले आफ्ना सैनिकहरू ब्यारेकमा फिर्ता पठाउनुपर्ने र कूटनीतिज्ञहरू वार्ताको टेबलमा आउनुपर्ने अमेरिकाको सर्त छ ।

Leave A Reply

Your email address will not be published.