सत्ता गठबन्धन बैठक : एमसीसीबारे सहमति जुटेन, शुक्रबार फेरि बस्ने

0

काठमाडौं : सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्ने विषयमा छलफल भएको थियो ।

तर गठबन्धनमा आवद्ध दलहरुबीच एमसीसीबारे सहमति हुन नसक्दा बैठक बिन निष्कर्ष टुंगिएको हो ।

बैठकको शुरुमै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी तत्काल संसदमा टेबुल गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

तर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने आफ्नो पुरानै अडान दोहोर्‍याएको छ । एमसीसी यथास्थितिमा पारित गर्ने पक्षमा उनीहरु छैनन् ।

तर उनीहरुले गठबन्धन भने जोगाउनुपर्नेमा जोड दिएको बताइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे अमेरिकाले दिएको फेब्रुअरी २८ सम्म निष्कर्षमा पुर्‍याउनुपर्ने प्रस्ताव गरेकाे जानकारी दिए ।

मन्त्री कार्कीले एमसीसीका विषयमा सत्ता गठबन्धनको बैठकमा गम्भीर छलफल भएको बताए । उनले शुक्रबार फेरि बैठक बसेर थप निर्णय गर्ने बताए ।

उनले तीन घण्टाको अवधिमा सबै दलका नेताहरूले एमसीसीका हरेक विषयमा आफ्नो धारणा राखेको बताए । यसलाई सहमतिका साथ निष्कर्षमा पुर्‍याउन शुक्रबार फेरि बैठक बस्ने उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.