युक्रेनको आरोप- समुद्री पहुँचमा रुसले अवरोध पुर्‍यायो

0

एजेन्सी : युक्रेनले आफ्नो समुद्री पहुँचमा रुसले अवरोध पुर्‍याएको आरोप लगाएको छ । युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसले सी अफ एजोफ पूरै अवरूद्ध पारेको आरोप लगाएका हुन् ।

रुसले ब्ल्याक सीको बाटो समेत लगभग पूरै जस्तो विच्छेद गराएको उनको भनाइ छ । सो क्षेत्रमा रुसी नौसेनाले सैन्य अभ्यास गर्न लागेका बेला युक्रेनका विदेशमन्त्रीको पछिल्लो भनाइ आएको हो ।

रुसले युक्रेनको दक्षिणतर्फका ती सागरमा अर्को साता हुने सैन्य अभ्यास गर्न लागेको छ । अभ्यासका क्रममा क्षेप्यास्त्र प्रहार र गोलाबारी हुनसक्ने भन्दै तटीय क्षेत्रका लागि उसले पूर्वचेतावनी जारी गरेको छ ।

रुसी सैन्य अभ्यासले समुद्रमा आउजाउ ’व्यवहारिक रूपमा असम्भव’ भएको युक्रेनले जनाएको हो । युक्रेनले आफूमाथि रुसले मनोवैज्ञानिक दबाब दिन खोजेको बताएको छ ।

रुसले यसै साता छिमेकी बेलारुससँग एउटा ठूलो सैन्य अभ्यास सुरु गरेको छ । युक्रेनतर्फका सीमामा एक लाखभन्दा धेरै रुसी सैनिक तैनाथ गरिएको छ ।

रुसले युक्रेनमा हमलाको योजना बनाएको भन्ने पश्चिमा आरोपलाई भने मस्कोले अस्वीकार गर्दै आएको छ ।

रुसले आक्रमण गर्नसक्ने भन्दै तीन बाल्टिक देशहरूले नेटोलाई पूर्वी युरोपमा सैन्य सहायता बढाउन आग्रह गरेका छन् ।

इस्टोनिया र लाल्भिया र लिथुआनियाकाले यस्तो आग्रह गरेका हुन् ।

उता अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल उक्त देश छाड्न आग्रह गरेका छन् । उनले युक्रेनतर्फका सीमामा बढेको रुसी सैन्य उपस्थितिप्रति चिन्ता दर्शाउँदै सो आग्रह गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.