ट्रक चालकहरुको आन्दोलन अस्वीकार्य : प्रधानमन्त्री ट्रुडो

0

एजेन्सी : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशभरिका ट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् ।

संसद बैठकलाई सम्बोधन गर्दै उनले उनले ट्रक चालकहरुको आन्दोलन अस्वीकार्य रहेको बताएका हुन् । कोभिड लागेका कारण एक साता आइसोलेसनमा बसेर उनी सोमबारबाट संसद् फर्किएका हुन् ।

प्रधानमन्त्री ट्रुडोले कोभिड नियमहरूको बचाउ गर्दै अवरोध, गैरकानुनी प्रदर्शनहरू अस्वीकार्य रहेको बताए । आन्दोलनले व्यावसाय र उत्पादनमा नकारात्मक असर पारेको उनको भनाइ छ ।

प्रदर्शनकारीहरूले देशको अर्थतन्त्र र प्रजातन्त्रलाई अवरोध पार्ने प्रयास गरेको ट्रुडोले बताए ।

प्रहरीले समेत दुई सातादेखि राजधानी सहर ठप्प पारेका चालकहरूलाई आपराधिक अभियोगमा पक्रन सक्ने चेतावनी दिएको छ ।

राजधानी ओटावाका सडक अवरोध पार्नेजस्ता कामलाई आपराधिक कार्य मान्न सकिने भन्दै प्रहरीले त्यस्तो काम बन्द गर्न वा अभियोग सामना गर्न तयार रहन सजग गराएको हो ।

ट्रक चालकहरूले अनिवार्य रूपमा खोप लगाउनु पर्ने वा परीक्षण गर्नुपर्ने विषयलाई लिएर सुरु भएको प्रदर्शन अहिले निकै व्यापक भएको छ ।

सोमबारबाट प्रदर्शनकारीहरूले अमेरिकासँग जोडिने एउटा मुख्य पुलमा समेत अवरोध पुर्‍याएका छन् ।

अमेरिकासँग जोडिने मुख्य मार्गमा समेत अवरोध खडा पारिएपछि ह्वाइटहाउसकी प्रेस सेक्रेटरी जेन साकीले प्रदर्शन अन्त्यको आह्वान गरेकी छन् ।

Leave A Reply

Your email address will not be published.