युक्रेन विवादलाई लिएर राष्ट्रसंघको बैठकमा अमेरिका र रुसबीच चर्काचर्की

0

एजेन्सी : संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा रुसी र अमेरिकी राजदूतबीच चर्काचर्की भएको छ । युक्रेनसँगको सिमानामा मस्कोले सेना परिचालन गरेपछि छलफलका लागि अमेरिकाले बोलाएको बैठकमा दुबै देशका प्रतिनिधिविच आरोप प्रत्यारोप भएको हो ।

बैठकमा राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालन पछिल्लो केही दशकमा देखिएको सबैभन्दा ठूलो सैन्य परिचालन भएको बताइन् ।

अमेरिका युक्रेन समस्या कूटनीतिक तवरबाटै समाधान गर्नुपर्ने पक्षमा भएपनि युक्रेनमाथि आक्रमण गरे त्यसको जवाफ दिन तयार रहेको उनले बताइन् ।

जवाफमा रुसी समकक्षी भासिली नेबेन्ज्यालले अमेरिकाले रुसविरुद्ध घृणा पैदा गर्ने काम गरिरहेको र रुसको आन्तरिक मामिलामा अमेरिकाको हस्तक्षेप स्वीकार्य नहुने बताए ।

युक्रेनमाथि सैन्य आक्रमण गर्ने कुनै प्रमाण नरहेको उनको भनाइ छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले तनाव बढाउने र हाउगुजी फैलाउने काम गरेको भासिलीको आरोप छ ।

अमेरिका र बेलायतले रुसले युक्रेनमाथि आक्रमण गरे थप प्रतिबन्ध लगाइने घोषणा गरिसकेका छन् । रुसले करिब एक लाख सैनिक युक्रेनको सीमामा तैनाथ गरेको छ ।

युक्रेन विवाद अन्त्यका लागि कूटनीतिक प्रयास भने जारी नै रहेको छ । रुसी राष्ट्रपति पुटिनले सोमवार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग फोनमा कुराकानी गरेका छन् ।

Leave A Reply

Your email address will not be published.