जर्मनीमा कोरोनाका नयाँ नियमविरुद्ध हजारौंको प्रदर्शन

0

एजेन्सी : जर्मनीमा सरकारले लगाएको कोरोना भाइरस नियमहरू विरुद्ध बृहत प्रदर्शन भएको छ । 

फ्रान्कफर्ट, ह्यामबर्ग, फ्राइबग र डसेलडोर्फलगायतका धेरै प्रमुख सहरहरूमा हजारौं मानिसहरूले सरकारले लगाएको कोरोना भाइरस नियमहरू विरुद्ध प्रदर्शन गरेका हुन् । 

क्रिसमसको मुखैमा अनावश्यक तरिकाले कोरोना भाइरस नियन्त्रणका नाममा नियमहरु लादेको भन्दै सर्वसाधारण विरोधमा उत्रेका हुन् । खोप र जर्मन सरकारको कोरोना भाइरस नीतिहरूका विरोधीहरूले प्रदर्शनको आयोजना गरेका हुन् । 

प्रदर्शनमा सहभागीहरुले अनिवार्य खोप सम्बन्धी नियमको समेत विरोध गरेका छन् । प्रदर्शनमा सहभागीहरुले अनिवार्य गरिएको मास्क समेत लगाएका थिएनन् । 

जर्मनीले बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । तर कोही अभिभावक खोपका पक्षमा छन् भने कतिपयले यसको विरोध गरेका छन् । सरकारले अनिवार्य खोप नीति लागू गर्ने चर्चा चलेपछि खोप विरोधीहरुसमेत यो नितिका विरुद्ध उत्रिएका छन् । 

जर्मनीमा स्वास्थ्य नियम लागू भएसँगै हरेक हप्ता जस्तै विरोध प्रदर्शनहरु हुँदै आएका छन् । बर्लिनका अधिकारीहरूले प्रदर्शनमा प्रतिबन्ध लगाएका छन् । प्रदर्शनकारीहरूले मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने लगायतका कोरोना भाइरस नियमहरू उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाइएको हो । 

तर जर्मनीमा प्रहरीको निषेधाज्ञालाई तोड्दै धेरै पटक प्रदर्शन र भेलाहरु हुँदै आएका छन् । जर्मनीमा युरोपेली योजना अनुसार तुलनात्मक रूपमा खोप लगाउनेको दर कम छ । कुल जनसंख्याको ७० प्रतिशतले मात्र भाइरस विरुद्ध खोप लगाएको छ । यसमा दुबै मात्रा लगाउनेहरुको संख्या अझै कम रहेको छ । 

जर्मनीमा महामारी शुरु भएदेखि करिब ६० लाख ७६ हजारमा कोरोना संक्रमित भैसकेको छ । करिब एक लाख आठ हजारको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.