धनी राष्ट्रले कोरोनाविरुद्धको खोप भण्डारण शुरु गर्न सक्ने भन्दै डब्लुएचओद्वारा चिन्ता व्यक्त

0

एजेन्सी : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले ओमिक्रोन भाइरस तीव्र गतिमा फैलिएसँगै धनी राष्ट्रहरूले कोभिडविरुद्धको खोप भण्डारण सुरु गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

धनी मुलुकले खोप भण्डारण गर्दा खोप प्राप्त गर्न नसकेका राष्ट्रहरूमा खोप आपूर्ति प्रभावित पार्न सक्ने डब्लुएचओको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले बुस्टर मात्रा भन्दा सुरुवाती मात्रा उपलब्ध गराउने कार्य नै प्राथमिकतामा पर्नुपर्ने जनाएको छ । डब्लुएचओकी खोप सम्बन्धी निर्देशक केट ओ ब्रायनले धनी राष्ट्रहरूलाई खोप दान गर्ने कार्य जारी राख्न आग्रह गरेकी हुन् ।

ओमिक्रोन भाइरसबाट जोगिनका लागि कतिपय धनी राष्ट्रहरूले बूस्टर मात्रा सार्वजनिक गर्ने तयारी तीव्र पारेका छन् । खोप उत्पादक फाइजरले गरेको पछिल्लो अध्ययनमा फाइजर खोपले ओमिक्रोनविरुद्ध एन्टिबडी उत्पादन गर्ने अध्ययनले देखाएको छ ।

डब्लुएचओले भने बुस्टर अघि खोप नपाउनेलाई खोप उपलब्ध गराउनुपर्ने जनाएको छ । हालसम्म उपलब्ध कोभिडविरुद्धका खोपहरू नयाँ भेरियन्टविरुद्ध कम प्रभावकारी रहेको भन्दै चिन्ता व्यक्त भरहेका छन् ।

प्रारम्भिक तथ्या‌क अनुसार ओमिक्रोनले मानिसहरूलाई डेल्टा लगायतका भेरियन्टभन्दा बढी बिरामी नपार्ने देखिएको छ । प्रारम्भिक अनुसन्धानमा ओमिक्रोन निकै संक्रामक हुनसक्ने तर यसले मानिसहरूलाई तुलनात्मक रूपमा धेरै गम्भीर अवस्थामा भने नपुर्‍याएको देखिएको छ । सन् २०२०मा महामारी सुरु भएयता कोरोनाबाट विश्वभर ५० लाखभन्दा बढीको मृत्यु भैसकेको छ ।

Leave A Reply

Your email address will not be published.