एकलौटी निर्वाचनको घोषणा गर्ने काम झूठ र भ्रमको खेती’- एनआरएनए उपाध्यक्ष लामा

0

लन्डन (जीएनएन) — गैर आवासीय नेपाली संघको २०१९-२१ का केन्द्रीय उपाध्यक्ष सोनाम लामाले आफै सरकार विरुद्ध अदालतमा मुद्दा दायर गरेर निर्वाचन तालिका प्रकाशन गर्न लगाउने काम झूठ र भ्रमको खेती भएको बताएका छन्।

जीएनएनसंग कुरा गर्दै उपाध्यक्ष लामाले अदालतले कुनै पनि कामकारवाही अगाडी नबढाउनु भनेका बेला चुनावको तालिका प्रकाशित गर्नु गैरजिम्मेवार काम भएको बताए। “हाम्रो २ वर्षे कार्यकाल सिद्धि सक्यो। हामी कामचलाउ भैसक्यौं। हाम्रा एकलाख बढी सदस्यहरुलाई थाहा नदिएर, कार्य समितिलाई थाहा नदिएर, सरकार विरुद्ध मुद्दा गर्ने कामले संस्थालाई बिगार्न निश्चित छ,” लामाले भने। “हामीले सरकारसंग परामर्श गरेर काम गर्नु पर्छ। नागरिकता, सम्पत्तिको सुरक्षा, लगानी सम्बन्धि विषयमा हामीले सरकारसंग सहकार्य गर्नुपर्छ। त्यसैले सरकार विरुद्ध गएर मुद्दा मामिला गर्ने काम संस्थाको हितमा छैन,” उनले भने।

उनले बुधबार आयोजना गर्न लागिएको गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको दोश्रो भेला रोक्न काम चलाउ अध्यक्ष कुमार पन्तले दबाब दिनु आपत्तिजनक भएको बताए। “विना एनसीसी आइसीसी चलाउन सकिंदैन। एनसीसीलाई भेला नगर भन्नु हाम्रो म्यान्डेट छैन,” उनले भने।

‘संस्था विभाजन उन्मुख’

त्यस्तै संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले एकतर्फी रुपमा जबर्जस्ती निर्वाचन तालिका प्रकाशन गर्ने कामले संस्था लाई विभाजन उन्मुख गराएको बताए। उनले विना सहमति निर्वाचन कार्यक्रम अगाडी बढाएको प्रति खेद पनि व्यक्त गरे। “यस्तो एकपक्षीय कामले संवादको ढोका बन्द गरी बहुसंख्यक साथीहरुलाई संस्थाबाट बाहिर धकेल्न खोजिएको छ। यो मुर्खता नगर्न म आग्रह गर्दछु,” उनले भने।

यसै बीच संघका प्रवक्ता डिबी क्षेत्रीले मंगलबार एक विज्ञप्ति जारी गर्दै हरेक समस्याको समाधान लोकतान्त्रिक विधि पद्धति र आपसी छलफलबाट मात्रै सम्भव हुने भएकाले आगामी दिनमा सहकार्य र सहमतिका साथ अघि बढ्न आह्वान गरेका छन् । उनले, उनकै शब्दमा, निर्वाचन बिथोल्ने खालको कुनै पनि किसिमका गतिविधि नगर्न र नगराउन पनि सबैमा आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.