बेलायतमा तेल अभावले कयौं पेट्रोल पम्प बन्द, सहज बनाउनका लागि सेना तैनाथ गर्ने तयारी

0

एजेन्सी : बेलायतमा तेल अभावका कारण कैयौँ पेट्रोल पम्पहरू बन्द भएका छन् । पेट्रोल पम्पहरुमा लामो लाइन देखिन थालेको छ । पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउनका लागि सेनालाई तयारी अवस्थामा राखिएको छ । 

सेनाका ट्याङकर चालकहरूलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने सरकारले जनाएको छ । 

ब्रेक्जिट, कोरोना, ज्यालाको तह र जेष्ठ जनशक्तिजस्ता कारणले ट्याङकर चालकहरूको संकटले बेलायतमा तेल अभावको अवस्था आएको हो । बेलायत युरोपेली संघ ईयूबाट बाहिरिएपछि कयौँ युरोपेली चालकहरू आफ्नो देश फर्किएपछि पछिल्लो संकटको अवस्था आएको हो । 

थप सीमाको झन्झट र आयमा पर्ने असरका कारण कतिपय अन्यत्र काम गर्न गएकाले पनि समस्या भएको छ । 

बेलायतका व्यापारमन्त्री क्वासी कोर्टनले यूकेसँग पर्याप्त आपूर्ति रहेको बताउँदै सेनालाई तयारी अवस्थामा राख्ने कदमलाई समझदारी र सावधानीको कदम भनेका छन् । 

तेल आपूर्तिकर्ताहरूले आगामी दिनहरूमा माग सामान्य हुने बताएका छन् । केही स्थानमा व्यापारीहरुले अभावको अवस्थाको फाइदा उठाउदै मूल्य बढाएको बताइएको छ । 

सरकारले भने आवश्यकता नभएका मानिसहरूले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको र ती रित्तिन पुगेको बताएको छ । 

ट्याङकर चालकहरूको अभावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुनसक्ने आशंकाका कारण कैयौँ चालकहरू पेट्रोल पम्प पुगेका छन् । 

सरकारले ट्याङकर चालकहरूको अभाव पूर्ति गर्नका लागि विदेशी एचजीभी चालकहरूका लागि तीनमहिने अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउने जनाएको छ । 

बिपी र सेलजस्ता ठूला उत्पादकहरूले यूकेका रिफाइनरीहरूमा पर्याप्त मात्रामा इन्धन रहेको जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.