कोरोनाबाट जनतालाई सुरक्षित गराउनु नेपालको पहिलो प्राथमिकता : परराष्ट्रमन्त्री खड्का

0

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्काले विश्वव्यापी मानव समुदायका लागि चुनौती बनेको कोरोना भाइरस महामारीबाट जनतालाई सुरक्षित बनाउनु नेपालको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई न्युयोर्कमा नेपालको तर्फबाट मंगलबार बिहान सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले उक्त कुरा बताएका हुन् । उनले नेपाली जनतालाई कोरोना संक्रमणबाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको महासभामा जानकारी गराए ।

सबै नेपाली जनतालाई आगामी छ महिनाभित्र खोप लगाईसक्ने लक्ष्यकासाथ नेपाल सरकारले कार्ययोजना अघि बढाएको पनि मन्त्री खडकाले बताए ।

कोरोना भाइरसको संकट व्यवस्थापन र खोपको व्यापकताका लागि राष्ट्र संघले देखाएको चासो र प्राथमिकताको परराष्ट्रमन्त्री खड्काले प्रसंशा गरे । विश्वका विभिन्न मुलुकको शान्ति स्थापना कार्यमा नेपालको योगदान रहेको पनि चर्चा गरे ।

आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै मन्त्री खड्काले नेपालले आतंकवादको विरोध गरिरहेको बताए । आणविक हातहतियारको होडबाजीले विश्वको शान्ति र सहअस्तित्वमाथि प्रश्न खडा गर्ने भएकोले नेपाल त्यसको विपक्षमा रहेको मन्त्री खड्काले स्पष्ट पारे ।

अफगानिस्तान, लिबिया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएकाले सोही अनुरुप आपसी समझदारीमा समाधान हुने विश्वास नेपालको रहेको खडकाले बताएका छन ।

प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनको असर न्यूनिकरणमा नेपालले प्राथमिकता दिएको मन्त्री खड्काले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.