जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गोञ्जालोको निधन

0

एजेन्सी : लामो समयदेखि जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गुज्मन ’गोन्जालो’को निधन भएको छ । गोञ्जालोको ८६ वर्षको उमेरमा सैनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बिरामी भएका उनलाई थप उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको बताइएको छ ।

गोञ्जालो पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष हुन् । उनको वास्तविक नाम रुबेन एबिमाएल गुजम्यान रेयनोसो हो । उनलाई कम्युनिष्ट आन्दोलनमा ‘चेयरम्यान गोञ्जालो’ भनेर सम्बोधन गरिन्थ्यो ।

उनले पेरूका तत्कालिन राष्ट्रपति अल्बर्टो फुजीमोरी शासनकाविरूद्ध सन् १९८० देखि १९९९ सम्म चलेको सशस्त्र विद्रोहको नेतृत्व गरेका थिए ।

माओवादी दर्शनको पक्षपाती साइनिङ पाथलाई विश्वकै सशक्तमध्येको एक सशस्त्र कम्युनिष्ट संगठन मानिन्थ्यो । सो हिंसात्मक आन्दोलनमा २० वर्षमा करिब ७० हजार नागरिकको मृत्यु भएको थियो ।

उनलाई फुजिमोरी सत्ताले आजीवन कारावासको सजाय सुनाएको थियो । उनी सन् १९९२ सेप्टेम्बर १२ मा राजधानी लिमाबाट पक्राउ परेका थिए ।

उनको पक्राउसँगै साइनिङ पाथको सशस्त्र विद्रोह सुस्ताएको थियो । केही महिनाअघि पेरुमा वामपन्थी रास्ट्रपति पेद्रो कास्टियो निर्वाचित भएर आएपछि गोञ्जालोको रिहाइको माग भइरहेको थियो ।

Leave A Reply

Your email address will not be published.