काबुल विमानस्थलमा अर्को घातक आक्रमणको सम्भावना रहेको अमेरिकाको चेतावनी

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा अर्को घातक आक्रमणको सम्भावना उच्च रहेको चेतावनी दिएका छन् ।

सैन्य कमाण्डहरुले आइतबारसम्ममा फेरि आक्रमणको सम्भावना रहेको बताएको उनले जानकारी दिएका हुन् ।

बाइडेनले वक्तव्य जारी गर्दै काबुल बिमानस्थलमा आक्रमण गर्नेमाथि को कारवाही जारी रहने पनि बताएका छन् । क्रुर आक्रमणमा संलग्नहरुको खोजी गर्ने र उनीहरुलाई त्यसको परिणाम भोग्न बाध्य पार्ने उनको चेतावनी छ ।

बिहीबार हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १ सय ७० जनाको मृत्यु भएको थियो ।

जवाफमा अमेरिकाले ड्रोन आक्रमण गरेर घटनाका मुख्य योजनाकारको हत्या गरेको थियो । तालिबानले अमेरिकाको हवाई आक्रमणको निन्दा गरेको छ ।

तालिबानका प्रवक्ताले अमेरिकाले हवाई आक्रमण पूर्व आफूहरुसँग सल्लाह लिनु पर्नेमा नलिएको भन्दै आपत्ति जनाएको हो ।

तालिबानको कब्जामा गएको अफगानिस्तानबाट अमेरिकाले अझै पनि आफ्ना नागरिक, कर्मचारी तथा सहयोगीहरुको उद्धार गरिरहेको छ ।

अहिलेसम्म एक लाख १० हजार भन्दा धेरै मानिसको उद्धार भएको छ । शनिबार एकैदिन ६ हजार ८ सय नागरिकको उद्धार गरिएको छ ।

Leave A Reply

Your email address will not be published.