तालिबानको पत्रकार सम्मेलन : महिला अधिकारको सम्मान, सरकारी कर्मचारीलाई आममाफी

0

अफगानिस्तान कब्जा गरेको विद्रोही समूह तालिबानले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ । मंगलबार राति काबुलमा भएको पत्रकार सम्मेलनमा तालिबानका नेताहरुले आफूहरुले कुनै पनि नागरिकलाई दु:ख दिन नचाहेको बताएका बीबीसीले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले दुई दशकको संघर्षपछि देशलाई  विदेशीहरुको कब्जाबाट मुक्त गर्न सफल भएको र यो देशको लागि गर्वको विषय भएको बताए । अफगानिस्तानलाई अब युद्धभूमि बनाउन नदिइने उल्लेख गर्दै प्रवक्ता मुजाहिदले आफूहरुविरुद्ध लागेका सबै सरकारी कर्मचारीलाई आममाफी दिएको उल्लेख गरेका थिए ।

महिला अधिकारको सम्मान गर्ने तालिबानको भनाई छ । महिलाहरुले सरिया कानुन मान्नुपर्ने तर उनीहरुले डराउनुपर्ने कारण नरहेको बताउँदै प्रवक्ता मुजाहिदले महिलाहरुसँग काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिवद्धता जनाए । आफूहरुले अब कुनै पनि शत्रु नचाहेको बताउँदै तालिबानले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न चाहेको बताएका छन् । यस्तै तालिबानले आफ्नो सांस्कृतिक ढाँचा भित्र रहेर निजी क्षेत्रका सञ्चारमाध्यम निष्पक्ष र स्वतन्त्र हुन पाउनेमा पनि ढुक्क रहन आग्रह गरेको छ ।

तालिबानले नयाँ सरकार गठनको तयारी पनि गरिरहेको छ । पछिल्ला केही दिनको तुलनामा हिजो काबुलको अवस्था निकै शान्त भएको बीबीसीले जनाएको छ । तालिबानले नियन्त्रणमा लिएको तेस्रो दिन लडाकुहरूको व्यापक उपस्थिति रहे पनि राजधानी काबुलका सडकहरू शान्त देखिएका खबरहरु पनि अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले खबरमा उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.