उच्च तहका तालिबान नेता स्वदेश फर्किए

0

एजेन्सी : अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि सो समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्केका छन् ।

तालिबानका संस्थापकमध्येका एकजना नेता मुल्लाह अब्दुल घनी बरादर सहितका नेता स्वदेश फर्केका हुन् ।

कतारमा निर्वासित जीवन बिताइरहेका नेताहरु कान्दहर विमानस्थलमा उत्रिँदा समर्थकहरुले भब्य स्वागत गरेका छन् । बरादरले अमेरिकी सैन्य फिर्तीबारे भएका वार्ताहरूमा नेतृत्व गरेका थिए ।

उनको फिर्तीलाई नाटकीय पुनरागमनको सङ्केतका रूपमा लिइएको छ । उनी तालिबान गठन गर्ने चारमध्येका एक नेता हुन् ।

सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बनेका थिए ।

सन् २०१० मा पाकिस्तानमा पक्राउ परेका उनी २०१३ मा रिहा भएका थिए ।

यसैबीच अमेरिकाले अफगानिस्तानमा मानवअघिकारको सम्मान गर्ने प्रतिबद्धतालाई आफूले नियाल्ने बताएको थियो ।

मंगलबार तालिबानले पत्रकार सम्मेलन गर्दै मानव अधिकार, महिलाको अधिकार र स्वतन्त्र प्रेस प्रति प्रतिबद्धता जनाएको थियो । यद्यपि उसले इस्लामिक मान्यता अनुसार महिलाहरूले अधिकार पाउने जनाएको छ ।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले कसैलाई पनि हानी नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताएका हुन् । संयुक्त राष्ट्रसंघले चाहिँ पहिले तालिबानका गतिविधिहरू हेर्नुपर्ने बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अवस्थाबारे बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग कुरा गरेका छन् । साझा रणनीति निर्माणका लागि जी सेभेनका नेताहरूको बैठक आगामी साता बस्ने भएको छ ।

Leave A Reply

Your email address will not be published.