हिमालपारिको दुःख : ट्र्याक्टरमा खोप ढुवानी

0

वर्षासँगै खोला र खहेरमा बाढी आउन थालेपछि हिमालपारिको जिल्ला मुस्ताङमा कोरोनाभाइरसविरुद्धको खोप ढुवानीमा समस्या भएको छ। बाढीका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गरिएको छ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा भेरोसेल खोप ढुवानी गरेर ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाएको छ। २९ असारमा सदरमुकाम जोमसोमबाट लोमान्थाङ भेरोसेल खोप ढुवानी गर्दा कागबेनी नजिकै पाण्डाखोलामा बाढी आएको थियो।

लोमान्थाङबाट जोमसोमका लागि पठाइएको एम्बुलेन्स कागबेनी नजिकै रहेको माण्डा खोलामा रोकिएपछि ट्र्याक्टरमा ढुवानी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताए। “यहाँबाट गएको एम्बुलेन्स तर्न सकेन। दुई दिन रोकिएर ट्र्याक्टरमा खोला तारेपछि एम्बुलेन्समा लोमान्थाङ ल्याइयो,”  भण्डारीले भने।

कोरोना भाइरसविरुद्धको खोप सुरक्षाका लागि लोमान्थाङ गाउँपालिकाका स्वास्थ्य संयोजक तेन्जिङ नोर्बु गुरुङ ट्र्याक्टरमै गएका थिए। “माथिल्लो मुस्ताङमा समस्या छैन, कागबेनी आसपास हुँदै बग्ने खोलानालाले दुःख दिइरहेका छन्। अनेक विकल्प गरी गाउँमा खोप पुर्‍याएका छौँ,”  गुरुङले भने।

खोलामा पुल नरहेको र वर्षा भइरहेकाले बाढी आउँदा साना सवारी आवतजावतमा अवरुद्ध हुँदै आएको छ। यसअघि पनि मुस्ताङमा खोला बढेका कारण खोप तार्न कठिन भएपछि काठको सहायताले स्वास्थ्यकर्मीले खोप वारपार बनाएको तस्बिर ‘भाइरल’ भएको थियो।

देशभर खोप अभियान चलिरहेका बेला ढुवानीको समस्याका कारण मुस्ताङमा तोकिएको दिनभन्दा एक दुईदिन तलमाथि पारेर खोप अभियान सञ्चालन हुने गरेको छ। (रासस)

Leave A Reply

Your email address will not be published.