भारतबाट खरिद गरिएको १० लाख डोज खोप अझै डेढ महिना नआउने

0

काठमाडौं : भारतको सिरम इन्स्टिच्युटसँग खरिद गरिएको र सम्झौता अनुसार गत चैतमै आइसक्नुपर्ने कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप अझै डेढ महिना नआउने भएको छ ।

नेपालमा खोप र उचित स्वास्थ्योपचार सेवा नपाएकै कारण चैतयता मात्र ४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

सबै प्रकारका कूटनीतिक संवाद वा द्विपक्षीय उद्योग–वाणिज्यका मामिलाभन्दा अघि बढेर दिल्लीस्थित नेपाली दूतावासले खोपका लागि पहल गरे पनि उपलब्धि केही हात पर्न सकेको छैन ।

आफ्ना २० प्रतिशत नागरिकलाई दुवै मात्रा खोप लगाइसकेपछि मात्र भारतले छिमेकी देशमा उपलब्ध गराउन प्रयत्न थाल्ने भारतले जनाएको हो ।

भारतमा दुवै मात्रा खोप लगाइसकेकाको संख्या अहिलेसम्म करिब ५ प्रतिशत छ । एक मात्रा भने २० प्रतिशतभन्दा बढीले लगाएका छन् ।

भारतमा गत जनवरी १५ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेको छ । भारतमा २० प्रतिशतले दुई मात्रा खोप लगाइसक्न कम्तीमा पनि साउन मसान्त लाग्ने अनुमान छ । त्यसैले चाँडोमा पनि अझै डेढ महिना भारतबाट खोप आउन नसक्ने बताइएको छ । 

Leave A Reply

Your email address will not be published.