इरान ‘क्रुर रूपमा झुन्ड्याएर मृत्युदण्ड दिने सत्ता’ : इजरायली प्रधानमन्त्री बेनेट

0

एजेन्सी : इजरायलले इरानको परमाणु कार्यक्रमको आलोचना गरेको छ । इरानको परमाणु कार्यक्रमलाई सीमित तुल्याउन वार्ताहरू चलिरहँदा इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले इरानको आलोचना गरेका हुन् ।

उनले अमेरिका र उसका साझेदारहरूलाई इरानको खतराबाट ब्युँझन आह्वान गरेका छन् । बेनेटले इरानलाई क्रुर रूपमा झुन्ड्याएर मृत्युदण्ड दिने सत्ता भएको संज्ञा दिँदै उसले परमाणु अस्त्र चाहेको बताए । इरानले भने त्यस्ता आरोपहरु बारम्बार अस्वीकार गर्दै आएको छ ।

कूटनीतिज्ञहरूले राष्ट्रपति ट्रम्पको कार्यकालमा अमेरिका अलग भएको परमाणुसम्बन्धी सम्झौतालाई नवीकरण गर्न प्रगति भइरहेको बताएका छन् तर अझै फरक मतहरू रहेको पनि उल्लेख गरेका छन् ।

इजरायलले भने उक्त सम्झौताको विरोध गर्दै आएको छ । इजरायल र इरान लामो समयदेखि छाँया युद्धमा छन् जसका कारण उनीहरू सीधा मुठभेडभन्दा पनि एक अर्काले चाल्ने कदमको जवाफ फर्काइरहेका छन् ।

गत अप्रिल यता अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीले इरानसँग परमाणु अस्त्र सम्झौतालाई पुनः सक्रिय बनाउन वार्ता गरिरहेका छन् । सन् २०१५ मा सम्झौता भएपछि इरानले प्रतिबन्धहरू खुकुलो पारिएका जवाफमा आफ्ना परमाणु गतिविधिलाई केही सीमित तुल्याएको थियो ।

Leave A Reply

Your email address will not be published.