आज योग दिवस मनाइँदै

0

काठमाडौं : मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरणमा ध्यान दिँदै सोमबार विश्व योग दिवस मनाइँदैछ । सन् २०१४ बाट सुरु भएको विश्व योग दिवस हरेक वर्षको जून महिनाको २१ तारिखमा मनाइन्छ ।

आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणको महत्व दिने मान्यता राखिन्छ ।

योगलाई केवल व्यायाम मात्र नभई जीवनको आधार, दर्शन अनि यथार्थ मानिएको छ । योगले समतामूलक समाज निर्माणमा पनि सायोग पुर्‍याउने कतिपयको भनाइ छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउन तथा यो राष्ट्रिय गौरव सदैव जीवित राख्न प्रेरणा मिलोस भन्ने कामना गरेकी छन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सोमबार स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति‚ समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दै राष्ट्रपतिले योगको भूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छ भन्ने विश्वास व्यक्त गरेकी छन् ।

संयुक्त राष्ट्र संघले सन २०१४ डिसेम्बर ११ मा हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यस वर्ष मानव सुस्वास्थ्यका लागि योग भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ ।

Leave A Reply

Your email address will not be published.