इजरायलमा नेतान्याहूको १२ वर्षे शासनकाल ढल्यो, बेनेटले लिए प्रधानमन्त्रीको शपथ

0

एजेन्सी : इजरयालको संसद्ले नयाँ नेता निर्वाचित गरेपछि १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुले प्रधानमन्त्री पद गुमाएका छन् ।

नेतान्याहूको ठाउँमा विपक्षी गठबन्धनका नफ्ताली बेनेटले प्रधानमन्त्री पदको शपथ लिएका छन् । नेतान्याहूविरुद्ध नयाँ गठबन्धन बनाएका बेनेटले संसदमा बहुमत देखाएपछि नयाँ प्रधानमन्त्री बनेका हुन् । 

बेनेट प्रधानमन्त्री बनेसँगै सन् २००९ देखि लगातार प्रधानमन्त्री रहेका नेतान्याहू सत्ताबाट बहिर्गमनमा परेका छन् । दक्षिणपन्थी राष्ट्रवादी पार्टीका प्रमुख नेता बेनेटले संसदमा बहुमत सिद्ध गरेपछि नेतान्याहूको पद गएको हो ।

नयाँ गठबन्धन बनाएर प्रधानमन्त्री बनेका बेनेट सेप्टेम्बर २०२३ सम्म मात्रै पदमा रहनेछन् । त्यसपछि उनले नयाँ गठबन्धनमा रहेका मध्यमार्गी पार्टीका नेता येर ल्यापिडलाई सरकार हस्तान्तरण गर्नुपर्ने सहमति गरेका छन् ।

नेतान्याहू भने अब इजरायलको सदनमा सबैभन्दा ठूलो दल दक्षिणपन्थी लिकुड पार्टीका नेताको रूपमा प्रतिपक्षी दलका नेता मात्रै रहने भएका छन् । पछिल्लो दुई वर्षमा इजरायलमा चौथो पटक चुनाव हुँदासमेत कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि गठबन्धनसहित नयाँ सरकार बनेको हो ।

नयाँ गठबन्धनमा संसदमा विपक्षीभन्दा एक मत बढी रहेको छ । बेनेट प्रधानमन्त्री बन्ने क्रममा इजरायलको संसदमा सत्तापक्षसँग ६० मत रहँदा विपक्षमा ५९ मत रहेको छ । 

इजरायलको नयाँ प्रधानमन्त्री बनेका बेनेटलाई अमेरिकी राष्ट्रपति जो बाइडनले बधाई तथा शुभकामना सन्देश पठाइसकेका छन् । बाइडनले आफू बेनेटसँग मिलेर काम गर्न इच्छुक रहेको सन्देशमा बताएका छन् ।

Leave A Reply

Your email address will not be published.