इजरायल र प्यालेस्टाइनका नेतासँग बाइडेनको टेलिफोन संवाद, युद्ध अन्त्य गर्न आग्रह

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबीच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासलाई टेलिफोन गरी युद्ध अन्त्य गर्न आग्रह गरेका हुन् ।

संवादको क्रममा बाइडेनले नेतन्याहूलाई हमास वा अरु कुनै पनि आतंककारी समूहबाट हुने आक्रमणबाट आफ्नो प्रतिरक्षा गर्ने इजरायली अधिकारको पक्षमा आफ्नो समर्थन रहेको बताएका छन् ।

उनले दुवै तर्फ भएका मृत्युलाई लिएर चासो व्यक्त गरेका छन् । बाइडेनले पत्रकारको सुरक्षालाई लिएर पनि कुराकानी गरेको ह्वाइट हाउसले जनाएको छ ।

बाइडेनले सत्तामा आएपछि पहिलोपटक प्यालेस्टाइनी राष्ट्रपति अब्बाससँग पनि टेलिफोन संवाद गरेका हुन् । उनले हमासबाट इजरायलमा भइरहेको रकेट आक्रमण रोकिनु पर्ने बताएको ह्वाइट हाउसले जनाएको छ ।

बाइडेनले दुवै देशका नेतासँग हिंसाको विकल्पको खोजीमा प्रतिवद्ध रहेको पनि बताएका छन् ।

अमेरिकी दूत हादी आम्र वार्ताको प्रयासका लागि शनिबार नै तेल अविव पुगेका छन् । उनले इजरायल, प्यालेस्टाइन तथा संयुक्त राष्ट्रसंघका अधिकारीसँग छलफल गरिरहेका छन् । गएको सोमबार यता गाजामा कम्तीमा १४८ तथा इजरायलमा १० जनाको ज्यान गएको छ ।

Leave A Reply

Your email address will not be published.