स्वास्थ्य सामग्री सहयोग प्राप्तिका लागि पहल गर्न राजदूतहरुलाई सरकारको निर्देशन

0

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विदेशमा रहेका नेपाली कूटनीतिक नियोग र दूतावासहरुलाई खोप, अक्सिजन सम्बन्धी सामाग्री, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोग प्राप्तिका लागि पहल गर्न निर्देशन दिएका छन् ।

विदेशमा रहेका कूटनीतिक नियोग प्रमुख र राजदूतहरुसँग भिडियो सम्मेलन गरेर मन्त्री ज्ञवालीले अहिले भइरहेका प्रयासलाई अझ बढाउन र सहयोगका नयाँ ढोकाहरु पहिल्याउन पनि आग्रह गरेका छन् ।

मन्त्री ज्ञवालीले दुईपक्षीय, बहुपक्षीय, विभिन्न सहयोगी संस्था, निजी क्षेत्र र विदेशमा रहेका नेपालीहरु मार्फत सहयोग जुटाउनका लागि आग्रह गरेका छन् ।

यस अगाडि नै मन्त्रालयले विदेशमा रहेका नेपाली नियोगहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीको सूची नै उपलब्ध गराइसकेको छ । सो लिष्टका आधारमा सहयोग प्राप्तीका लागि पहल गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

दूतावासहरुलाई उपलक्ध गराएको लिष्टमा खोप, अक्सीजन सिलिण्डर भेन्टीलेटर, आइसिययु नेगेटिभ प्रेसर वेड, एक ठाउँबाट अर्को ठाउँमा लैजान मिल्ने डिजिटल एक्सरे मेसिन, थर्मल गन, टेष्टीङ किट, पल्स अक्सीमिटर, प्यासेन्ट मोनिटर, एन्टीजेन किट्स, पीपीई, अक्सिजन कन्सन्ट्रेटर लगायतका १४ सामाग्रीहरु रहेका छन् ।

चीनले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीहरु आउनेक्रम जारी छ भने अमेरिकाले यही साता स्वास्थ्य सामाग्री उपलब्ध गराउने जानकारी दिएको छ । युरोपेली युनियनले भने आर्थिक सहयोगको घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई आपत्कालीन सहयोगको आवश्यकता रहेको भनी विश्व समुदायलाई जानकारी गराएको छ ।

Leave A Reply

Your email address will not be published.