खोप निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गर्न अमेरिकासँग फ्रान्सको माग

0

एजेन्सी : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले कोरोना भाइरसविरुद्धको खोप निर्यातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्न अमेरिकालाई आग्रह गरेका छन् ।

विश्वव्यापी रुपमा खोपको उत्पादन बढाउने उपायहरुलाई लिएर युरोप र अमेरिकाबीच मत बाझिएका बेला बेला म्याक्रोँले प्रतिबन्ध फुकुवा गर्न माग गरेका हुन् ।

उनले उत्पादन र निर्यात बढाउनु नै विश्वव्यापी महामारी नियन्त्रणका लागि उपयुक्त उपाय रहेको बताएका छन् । खोप मात्रै नभएर खोप उत्पादनका लागि चाहिने सामग्रीको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध पनि अमेरिकाले फुकुवा गर्नु पर्ने म्याक्रोँको भनाइ छ । उनले अहिलेसम्म अमेरिकामा उत्पादित शतप्रतिशत खोपहरु अमेरिकामै प्रयोग भएको बताएका छन् ।

विश्वभर अहिलेसम्म एक अर्ब २५ करोडभन्दा बढी मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाएको बताइएपनि विश्वका सबैभन्दा गरिब २९ देशमा त्यसको एक प्रतिशत भन्दा कम मात्रै खोप दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

धनी देशहरुमा खोप अभियान तीव्र गतिमा चलेपनि गरिव देशहरुमा भने खोप अभावका कारण खोप अभियान प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । दक्षिण अफ्रिका र भारतको पहलमा सुरु भएको कोरोनाविरुद्धको खोपलाई बौद्धिक सम्पती अधिकारको दायराबाट मुक्त गर्ने अभियानमा अमेरिकाले समर्थन जनाएको छ । तर जर्मनी भने त्यसको विपक्षमा उभिएको छ ।

अमेरिकाले आफूसँग मौज्दात रहेको एस्ट्राजेनेकाको खोप आगामी महिनाबाट अरु देशलाई दिने बताएको छ । म्याक्रोँले खोपको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्न बेलायतलाई पनि आग्रह गरेका छन् । प्रतिबन्ध नलगाएको दाबी बेलायतले गरे पनि अहिलेसम्म बेलायतबाट बाहिर खोप निर्यात हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.