म्यान्मारमा कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु

0

एजेन्सी : म्यान्मारमा बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन भनेको छ ।

सुरक्षाकर्मीले विभिन्न सहरहरूमा ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएका हुन् । मोनयूआ, यांगुन, मान्डले र मिइनजानमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको हो ।

प्रहरीले निशस्त्र स्वास्थ्य स्वयमसेवक र सडकका प्रदर्शनकारीमाथि गोली चलाएको भिडियो सार्वजनिक भएको छ ।

म्यानमारका लागि राष्ट्रसंघीय दूत क्रिस्टिन स्नारन बूर्गनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते भएको बताइकी छिन् ।

बूर्गनरले सैनिक जर्नेलहरूविरुद्ध कडा कदम उठाउन राष्ट्रसघंलाई आग्रह गरेकी छिन् । म्यानमार सेनाका उपप्रमुखसँगको कुराकानीमा उनले दण्डनीय कदम उठाउने चेतावनी समेत दिएकी छिन् ।

बुधवारको घटनापछि बेलायतले शुक्रवार राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ । अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय रूपमा बढ्दो निन्दाबीच सेनाले सडक प्रदर्शनविरुद्धको कदम बढाएको छ । सेनाले बाह्य प्रतिबन्धहरूको सामना गर्न तयार रहेको बताएको छ ।

सेनाले प्रदर्शनकारीहरू मारिएको भनिएको घटनाबारे कुनै प्रतिक्रिया जनाएको छैन । गत आइतवारको हिंसामा १८ जना मारिएका थिए ।

निर्वाचित सरकार अपदस्थ गर्दै शक्ति हातमा लिएको म्यानमारको सेनाले संकटकाल घोषणा गरेको छ । प्रजातन्त्रवादी नेत्री आङ सान सू ची सहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी बनाइएको छ । प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासनको अन्त्यको माग गरिरहेका छन ।

Leave A Reply

Your email address will not be published.