अमेरिकी संसद‌मा जो बाइडनको जित प्रमाणित

0

एजेन्सी : अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ । इलेक्टोरल मत गणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले तीन सय छ र डोनाल्ड ट्रम्पले २ सय ३२ इलेक्टोरल मत प्राप्त गरेको घोषणा गरेका हुन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत आवश्यक हुन्छ । संसद्ले प्रमाणित गरेपछि बाइडेनलाई जनवरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ । संसद्मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकनले चुनौती दिएको भए पनि ती दुई तिहाइले अस्वीकृत भएका छन् ।

संसद्को संयुक्त बैठक राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बलपूर्वक संसद् भवनमा प्रवेश गरेका कारण केही बेर अवरुद्ध भएको थियो । इलेक्टोरल मतबारे नेभाडा, मिशिगन, विस्कन्सिन र जर्जियाका सांसद्हरूको चुनौती भने सिनेट सदस्यको हस्ताक्षरको अभावमा तुहिएको थियो ।

संसद्को बैठकपछि डोनल्ड ट्रम्पले विज्ञप्ति जारी गर्दै जनवरी २० मा शान्तिपूर्ण हस्तान्तरण’ हुने बताएका छन । उनले आफ्नो प्रवक्ताको ट्विटरमार्फत सो जानकारी दिएका हुन । ट्विटरले ट्रम्पको खाता केही समयको लागि बन्द गरेको छ ।

ट्रम्पले निर्वाचनमा धाँधली भएको प्रमाणविनाको दाबी छोडेका छैनन् । राष्ट्रपतीय इतिहासमा सबैभन्दा महान कार्यकालको अन्त्य भए पनि अमेरिकालाई फेरि महान बनाउने संर्घष जारी रहने उनले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.