सेरमको कोरोना खोपले पायो भारतमा अनुमति

0

एजेन्सी : भारतमा सेरम इन्स्ट्ट्यिुट अफ इण्डिया ‘एसआईआई’ द्वारा उत्पादित कोभिसिल्ड खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको छ । अंग्रेजी नयाँ वर्षकै दिन भारत सरकारको एउटा उच्चस्तरीय विशेषज्ञ समितिले खोप स्वीकृत गरेको हो ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकसित खोपलाई भारत सरकारको केन्द्रीय औषधि मापदण्ड नियन्त्रण संगठन अन्तर्गको विषयगत विज्ञ समितिले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो ।

यो निर्णयसँगै भारतमा खोपको आपत्कालीन प्रयोगको बाटो खुलेको छ । यससम्बन्धी अन्तिम निर्णय भने भारतको औषधि नियन्त्रण महानिर्देशनालयले गर्ने जनाइएको छ । एक साताभित्र सो निर्णय भइसक्ने अनुमान छ । सेरमले अक्सफोर्ड–एस्ट्राजेनेकासँग मिलेर पाँच करोडभन्दा बढी डोज उत्पादन गरेर तयारी अवस्थामा राखेको छ ।

भारतमा सेरमद्वारा उत्पादित खोपले अनुमति पाएसँगै नेपालमा पनि खोप चाँडै उपलब्ध हुने आश बढेको छ । सेरमले खोपको आपूर्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको यसअघि नै बताएको छ ।

सरकारले पनि परराष्ट्र मन्त्रालयमार्फत् भारत सरकारलाई खोपका लागि औपचारिक पत्र पठाइएको छ । भारत बायोटेकद्वारा विकास गरिएको कोभ्याक्सिनको आपत्कालीन अनुमति दिने प्रक्रिया पनि अन्तिम चरणमा छ ।

भारतमा आपत्कालीन अनुमतिका लागि हालसम्म फाइजर, सेरम र भारत बायोटेकले आवेदन दिएका थिए । भारत सरकारले आगमी जुलाई महिनासम्म ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.