राष्ट्रपति निर्वाचित भएपछि कार्यकालको योजना बनाउँदै बाइडेन, कोरोनाभाइरस महामारी प्रमुख प्राथमिकता

0

एजेन्सी : अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरस महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने भएका छन् । अमेरिकाको ४६ औँ राष्ट्रपति हुने बाइडेनको समूहले प्रमुख प्राथमिकताको विषयमा तयारी थालेको हो ।

डेमोक्रेटिक दलका तर्फबाट निर्वाचनमा सहभागी उनी जनवरी महिनामा सत्ता सम्हाल्ने योजनासहित तयारीमा जुटेका हुन् । उनको टोलीका अनुसार अमेरिकामा कोरोना भाइरस परीक्षणको दायरा बढाइनुका साथै सर्वसाधारणलाई मास्क लगाउन भनिनेछ ।

बाइडेनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताइएको छ । बाइडनको नेतृत्वमा अमेरिकाले पेरिस सम्झौता पुनः स्वीकार गर्नेछ । विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णय पनि बाइडनले बदर गर्ने बताइएको छ ।

ट्रम्प प्रशासनले सात वटा मुस्लिम मुलुकमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि अन्त्य गरिने बताइएको छ । केही महत्वपूर्ण राज्यहरूमा मतगणना जारी छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हालसम्म हार स्वीकार गरिसकेका छैनन् । औपचारिक घोषणा नभएकाले बाइडनको जित प्रक्षेपणमै सीमित छ ।

Leave A Reply

Your email address will not be published.