कार्यदलको प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त भएको छैन: नेता नेपालको सचिवालय

0

काठमाण्डौ – नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको भनेर सार्वजनिक भएका विवरण सत्य नभएको उनको सचिवालयले जनाएको छ।

नेपालका स्वकीय सचिव मोहन गौतमले अहिलेसम्म नेता नेपालले कहीँकतै उक्त प्रतिवेदनबारे टिप्पणी नगरेको जनाउँदै असन्तुष्टि भनेर सार्वजनिक भएका समाचार सत्य नभएको जनाएका हुन्।

गौतमले भनेका छन्, ‘माधवकुमार नेपालज्यूले ‘नेकपा समस्या समाधान सुझाव कार्यदलले प्रस्तुत गरेको ‘सुझाव प्रतिवेदन’ प्रति गरेको टीप्पणी भनेर विभिन्न सञ्चार माध्यममा आएको कुरा सत्य होइन।’

उनले शनिबार बस्ने सचिवालय बैठकमै नेपालले प्रतिवेदन उपर आफ्ना धारणा राख्ने जानकारी दिए। प्रतिवेदन शनिबार बस्ने सचिवालय बैठकमा पेश भइ छलफल हुनेछ।

‘उहाँहरूकै माग बमोजिम अनुमोदन गरिएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन उपर सचिवालयको बैठकमै टीप्पणी, राय, सुझाव, धन्यवाद एवं आलोचना गर्ने हुनाले बाहिर गरिएका नियोजित हल्ला एवं अफवाहमा नपर्न सबैमा सादर अनुरोध गर्दछु’, गौतमले भनेका छन्।

नेता नेपालले पार्टी विधि प्रक्रियामा आधारित भएर चलाउन दबाब दिँदै आएको सन्दर्भमा औपचारिक स्थानभन्दा बाहिर पहिला प्रतिवेदनमाथि आफ्नो धारणा नराखेको सचिवालयको भनाइ छ।

पार्टीमा दुई महिनादेखि उत्कर्षमा पुगेको विवाद समाधानका लागि साउन ३० गते अध्यक्षद्वयले गठन गरी भदौ १ गते महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदललाई अनुमोदन गरेको थियो।

पार्टीभित्रका तीनवटै समूहका दुई–दुई जना प्रतिनिधि रहने गरी गठित कार्यदलले संसदको यो अवधिभर केपी ओली प्रधानमन्त्री नै रहने, अर्का अध्यक्ष प्रचण्ड पार्टी काममा केन्द्रित हुने, सरकारका सबै काम पार्टीको सल्लाह र सम्मतिबाट हुने, आउँदो चैत अन्तिम हप्ता महाधिवशेन गर्ने, पार्टी एकताको काम एक महिनाभित्र सम्पन्न गर्ने, संघ र प्रदेशमा मन्त्रिपरिषद हेरफेर गर्नेलगायतका सुझाव दिएको छ।

तर प्रतिवेदनमा नेता नेपालले उठाउँदै आएको पार्टीमा एक व्यक्ति एक पद, एकलौटी ढंगले गरिएका नियुक्ति बदर हुनुपर्ने जस्ता विषय भने समेटिएको छैन।

Leave A Reply

Your email address will not be published.