काठमाण्डौ – सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ‘पुनः नियुक्ति नगर्ने’ संकेत गरेको छ । आज सरकारका प्रवक्ता डा. युवराज खतिवडाले घिसिङप्रति उल्टै व्यङ्ग्य गरेर ‘पुनः नियुक्ति नगर्ने’ संकेत गरेका हुन् ।
सञ्चार मन्त्रालयको समेत जिम्मेवारी लिएका अर्थमन्त्री डा. खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सामाजिक सञ्जालले नियुक्ति दिएको भन्दै उल्टै व्यङ्ग्य गरे । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुर्ननियुक्ति सामाजिक सञ्जालले दिएको होला तर सरकारलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका थिए ।
‘उहाँलाई सामाजिक सञ्जालले नियुक्ति दिएको होला,’ सरकारका प्रवक्ता डा. खतिवडाले भने, ‘सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन ।’ उनको अभिव्यक्ति निकै अर्थपूर्ण रहेको छ । यो घिसिङलाई पुनः नियुक्ति नदिने आशयका रुपमा बुझिएको छ । उनको प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।
गत मङ्गलबार प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गरेको खबर भाइरल भएको थियो । घिसिङको नक्कली ट्वीटर एकाउन्टबाट समेत यसको प्रचार भएको थियो । तर, पछि सरकारले घिसिङलाई पुनः नियुक्ति नगर्ने सुचनाहरु बाहिर आएपछि सामाजिक सञ्जालमा उनको पक्षमा प्रतिक्रियाहरु आइरहेका छन् ।