मन्त्रिपरिषद् पुर्नगठन गर्ने प्रधानमन्त्री ओलीको तयारी

0

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किरहेको विवाद समाधानका लागि प्रधानमन्त्रीले सबै समूहलाई समेट्ने गरी मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेका हुन् ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री ओलीबीच मन्त्रिपरिषद् पुर्नगठनबारे छलफल भइसकेको स्रोतले जानकारी दियो । नेकपाको स्थायी कमिटी बैठकमा पार्टी फुट्नेसम्मको अवस्था आएपछि प्रधानमन्त्री ओलीले शक्ति बाँडफाँड गरेर अगाडि बढ्ने अध्यक्ष प्रचण्डसँग सहमति गरेका छन् । स्रोतकाअनुसार प्रधानमन्त्रीले पार्टीभित्र असन्तुष्ट रहेका माधव नेपाल, झलनाथ खनाल समूहका नेताहरुलाई समेत मन्त्री बनाउने तयारी गरेका हुन् ।

गत असार १८ गतेको नेकपा स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि नेकपाभित्र उत्पन्न विवाद समाधानका लागि प्रधानमन्त्री ओली सबै असन्तुष्ट समूहलाई समेटेर अगाडि बढ्ने मनस्थितिमा पुगेका हुन् ।

दुवै अध्यक्षबीच करिब १५ दिनदेखि निरन्तरको वार्तामा मन्त्रिपरिषद् पुर्नगठन गर्ने र सबै असन्तुष्ट समूहका नेतालाई क्याबिनेटमा सहभागी गराउने सहमति भइसकेको स्रोतले जानकारी दियो । प्रधानमन्त्रीले दुई वर्षदेखि क्याबिनेटमा रहेका मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने अध्यक्ष प्रचण्डसँग सहमति गरेका छन् । क्याबिनेटमा आफ्नो उपस्थिति नरहेको बताउँदै आएका वरिष्ठ नेता खनाल , उपाध्यक्ष वामदेव गौतमको समूह र वरिष्ठ नेता नेपाल निकट समूहका केही नेतालाई मन्त्री वनाउने तयारीमा प्रधानमन्त्री लागेका छन् । पूर्वमाओवादीबाट जर्नादन शर्मा, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल,पम्फा भुषाल र प्रभु शाहलगायतको मन्त्री बन्ने सम्भावना रहेको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीले पछिल्लो पटक गत मंसिर ६ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । उनले ६ जना मन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी मन्त्रालयमा घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमा वसन्तकुमार नेम्वाङ,महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा पार्वत गुरुङलाई नियुक्त गरेका थिए । त्यस्तै राज्यमन्त्रीहरुमा मोतीलाल दुगड (उद्योग, वाणिज्य तथा आपूर्ति), नवराज रावत(स्वास्थ्य तथा जनसंख्या) र रामवीर मानन्धर (सहरी विकास राज्यमन्त्री) लाई नियुक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले पछिल्लो पटक मन्त्री भएकाहरुलाई निरन्तरता दिने तर दुई वर्षभन्दा बढी पुगेकालाई परिवर्तन गर्ने तयारी गरेका छन् । त्यसका साथै केही राज्यमन्त्री परिवर्तन गरेर नयांलाई राज्यमन्त्री बनाउने र आफ्ना सल्लाहकारहरुको समेत परिवर्तन गर्ने प्रधानमन्त्रीको तयारी छ । नेकपामा प्रदेशका मुख्यमन्त्री,पार्टीका प्रदेश इन्चार्ज र प्रदेशका मन्त्रीहरु समेत परिवर्तन गर्ने गरी दुई अध्यक्षबीच छलफल चलिरहेको छ ।

‘प्रधानमन्त्रीले सवै पक्षलाई समेट्ने गरी मन्त्रिमण्डल परिवर्तन गर्ने तयारी गर्नुभएको छ, त्यसका लागी उहांले नेताहरुसंग परामर्श गरिहनुभएको छ । ’ प्रधानमन्त्री निकट एक नेताले भने ।

अहिले प्रधानमन्त्री ओलीको क्याबिनेटमा २५ जना मन्त्री रहेका छन् । जसमध्ये ईश्वर पोखरेल उपप्रधानमन्त्री रक्षा, रामबहादुर थापा, गृहमन्त्री प्रदीपकुमार ज्ञवाली परराष्ट्र, गिरिराजमणि पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधि, बर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, वसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात, रामेश्वर राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भानुभक्त ढकाल, स्वास्थ्य, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी मन्त्रालयमा घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमा वसन्तकुमार नेम्वाङ,महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा पार्वत गुरुङ, शक्तिबहादुर वस्नेत, वन तथा वातावरण, डा. युवराज खतिवडा अर्थ र सञ्चार, योगेश कुमार भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, जगतबहादुर सुनार (विश्वकर्मा) युवा तथा खेलकुद, बीना मगर खानेपानी, पद्माकुमारी अर्याल भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रहेकी छन् ।

Leave A Reply

Your email address will not be published.