गाडी बन्द, जहाज बन्द, होटल बन्द, शैक्षिक संस्था बन्द, सीमा बन्द अनि लकडाउन चाहिँ कसरी खुला?

0

काठमाण्डौ – सरकारले मंगलबार राति १२ बजेदेखि आकस्मिक रुपमा लक डाउन अन्त्य भएको घोषणा गरेको छ ।

कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि भन्दै चैत ११ गतेदेखि लागू भएको लकडाउन अन्त्य भएको सरकारले औपचारिक घोषणा गरे पनि व्यवहारिक रुपमा भने भदौको सुरुसम्मै लागू हुने देखिएको छ ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले लकडाउन मंगलबार राति १२ बजेदेखि अन्त्य भएको बताए पनि होटल, रेष्टुरेन्ट साउन १५ गतेदेखि, हवाई उडान भदौ १ गतेदेखि, सीमा प्रतिबन्ध साउन ३२ गतेसम्म बन्द रहने जानकारी दिएका छन् ।

त्यस्तै शैक्षिक संस्थाले भदौ १ गतेदेखि भर्ना र परीक्षा मात्र सञ्चालन गर्न पाउने, पठन पाठनबारे पछि निर्णय हुने भनिएको छ भने लामो दूरीका सार्वजनिक यातायात पनि भदौ १ गतेदेखि खुल्ने सरकारले जनाएको छ ।

एकातिर लकडाउन अन्त्य भएको घोषणा गर्ने अर्कोतिर मुख्य क्षेत्र भदौ लागेपछि मात्र खुला हुने सरकारको निर्णयले द्वैध मान्यता देखाएको छ ।

मुख्य क्षेत्र भदौ लागेपछि खुल्ने भने पनि लक डाउन अन्त्य भएको घोषणा सरकारले गर्नुका पछाडि राजश्व संकलनसँग प्रत्यक्ष जोडिएको स्रोतको दाबी छ । सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेको एक महिनाभित्र भ्याट, अन्तशुल्क, आयकर उठाउन सरकारलाई आदेश दिएको छ ।

सर्वोच्चले लकडाउन अवधिलाई शून्य अवधि मानेर कर प्रशासनमा समेत यस्तो आदेश दिएपछि ढुकुटीमा जम्मा हुनु पर्ने ५२ अर्ब रुपैयाँभन्दा बढी रोकिएको छ ।

Leave A Reply

Your email address will not be published.