सत्तारूढ नेकपाको सचिवालय बैठक: प्रधानमन्त्री ओलीको शक्ति परिक्षण

0

काठमाण्डौ – आन्तरिक विवाद र शक्ति संघर्षका कारण विवादमा रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार (आज) बस्दैछ ।

आजको सचिवालय बैठक पार्टी भित्रको विवादका साथै पार्टीको पहिलो वरियताका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको शक्ति परिक्षण हुने समेत विश्लेषकहरुको भनाइ छ ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा माग्दै आएका पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह तथा प्रधानमन्त्री ओली पक्षधरहरुको शक्ति परिक्षणको अवसर समेत मानिएको छ ।

पार्टी स्थायी कमिटी बैठक टार्दै आएका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक डाक्नुलाई अर्थपूर्ण मानिएको छ । उनले विरोधी समुहलाई गलाएको र थकाएको सन्देश गइरहेको छ । राजीनामा मागिरहेकाहरु अब एक महिनापछि केन्द्रीय कमिटी डाक्ने निष्कर्षमा पुगेका छन् । यसले ओलीविरोधीहरु कमजोर भएका त होइनन् भन्ने आशंका समेत उब्जिएको छ ।

पार्टी सचिवालयमा अहिले ओली अल्पमतमा छन् । उनको पक्षमा आफूसहित तीन जना छन् । विरोधी समुहमा छ जना छन् । तर, ओलीले दुई सचिवालय सदस्यलाई आफू नजिक ल्याइरहेको विषय बाहिर आइरहेको छ ।

उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल लचिलो बन्दै ओली नजिक पुगेको सन्देशहरु प्रवाह हुनथालेको छ । गौतम र थापा ओलीको राजीनामा माग्न अगाडि बढेका छैनन् । बादल मौन छन् भने गौतम ओलीप्रति अनगिन्ती असहमतिहरु भएको मात्र बताउँदै आएका छन् ।

गौतम र बादललाई नजिक ल्याएर ओलीले राजीनामाको माग कमजोर बनाउने रणनीति बनाउँदै आएका थिए । उनले विरोधीलाई कमजोर पारेर सत्ता सुरक्षित बनाएर थप कडा कदम चाल्न सक्ने आँकलन पनि गर्न थालिएको छ ।

Leave A Reply

Your email address will not be published.