ओलीलाई बामदेव र बादलको साथ मिलेको हो ?

0

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीभित्र स्थायी कमिटी बैठक टार्दै आएका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक डाकेका छन् । उनले भोलि बस्ने गरी सचिवालय बैठक डाकेका हुन् ।

ओलीविरोधी समुहका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल र बामदेव गौतमले राजीनामा मागेर स्थायी कमिटी बैठकको सामना गर्न भन्दै आएका थिए । ओलीले पटक पटक बैठक सार्न छाडेनन् । त्यसपछि अर्को महिना केन्द्रीय कमिटी डाकेर ओलीको राजीनामा विषयमा टुंगो लगाउने निष्कर्षमा ओलीविराधी समुह पुग्यो ।

स्थायी कमिटी टार्दै आएका ओलीलाई केन्द्रीय कमिटीको डर देखाएपछि उनले पनि भोलि सचिवालय बैठक डाकेका छन् । ओली सचिवालयमा स्पष्ट अल्पमतमा छन् । कुल नौ जना रहेको सचिवालयमा ओलीको पक्षमा आफूसहित तीनजना छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पाडेलमात्र ओलीको पक्षमा छन् । बाँकी छजना ओलीको विपक्षमा देखिएका छन् ।

तर, ओलीले अचानक भोलि सचिवालय बैठक डाक्नुमा उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल लचिलो हुनु पनि कारण रहेको बुझिएको छ । गौतम पक्षले ओलीको राजीनामाबाहेक बीचको बाटो अपनाउनुपर्ने गरी आफूलाई प्रस्तुत गर्न थालेको छ । उनी निकटस्थ स्थायी कमिटी सदस्यहरुल मन्त्रिमण्डल पुर्नगठन, पार्टीमा जिम्मेवारी परिवर्तनलगायतको विषयबाट सहमति निकाल्न पहल थालेका छन् ।

प्रचण्ड निकट मानिएका बादल सरकारमा गृहमन्त्री छन् । उनी पनि ओलीसँग नजिक नै छन् । बादलले कुनै हालतमा पार्टी फुट्ने अवस्था सृजना हुन नदिने अडान कस्दै आएका छन् । तटस्थ अवस्थामा देखिएका बादलको पछिल्लो भुमिका अर्थपूर्ण छ । ओलीले गौतम र बादलबाट नै आशा राखेका छन् । दुवैलाई साथ लिन सके ओली सचिवालयमा बहुमतमा पुग्छन् । स्थायी कमिटीमा पनि उनी बलियो हुनेछन् । त्यसपछि राजीनामाको एजेन्डा आफै कमजोर हुनपुग्छ ।

ओलीलाई गौतम र बादलले साथ दिने सम्भावना बलियो बन्दै गएको छ । गौतम आफूलाई जनताको बहुदलीय जनवादको पक्षपाती ठान्छन् । अ‍ोली पनि यही धारका हुन् । दुवैबीच लामो समययता नजिकको सम्बन्ध रहँदै आएको थियो ।

बादल सरकारमा गृह मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालयमा जिम्मेवारी सम्हालिरहेका छन् । उनी प्रचण्डभन्दा ओलीसँग नजिकिदै गएको चर्चा विगतमा पनि चलेको थियो । यसरी दुवै नेतालाई ओलीले पुनः नजिक बनाएको बुझिएको छ।

Leave A Reply

Your email address will not be published.